किन बन्द गर्नुपर्‍यो हायात होटल, सुरक्षाजन्य संवेदनशीलता ?

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते होटेल परिसरमा तोडफोड र अराजक गतिविधि भएपछि हायात रिजेन्सीले आफ्नो सेवा अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेको छ।

होटेलका मानव संसाधन निर्देशक मोहम्द यूसुफ चौधरीद्वारा शुक्रबार जारी गरिएको सूचनामा आन्दोलनका क्रममा भएको क्षति र सुरक्षाजन्य संवेदनशीलताका कारण होटेल तत्काल सञ्चालन गर्न नसकिने उल्लेख गरिएको छ। यसअघि नै जेनजी आन्दोलनका क्रममा भदौ २४ गते नक्सालको पाँच तारे होटेल हिल्टनमा आगजनीपछि अनिश्चितकालका लागि बन्द भएको छ।

होटलले सेवा बन्द गरेर कर्मचारी प्रवेशमा निषेध गरेको भन्ने खबर आएपछि प्रधानमन्त्री सुशीला कार्कीले चासो व्यक्त गरेकी छन्। प्रधानमन्त्री कार्कीको चासोपछि अर्थमन्त्री रामेश्वर खनालले आजै ह्यात रिजेन्सी व्यवस्थापनसँग बिहान कुराकानी गरी जानकारी लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

त्यस क्रममा अर्थमन्त्री खनालले सुरक्षाको पूर्ण प्रत्याभूति दिन सरकार तयार रहेको र कति पनि विचलित नभई सेवा सुचारु गर्न आग्रह गरे। अर्थमन्त्री खनालले भने, “तपाईँहरू आत्तिनुभएन । उच्च मनोबलका साथ आफ्नो सेवा सुचारु गर्नुहोस् । हामी साथमा छौँ । सुरक्षाको व्यवस्था हामी मिलाउँछौँ । कति पनि विचलित नभएर आफ्नो व्यवसायलाई निरन्तरता दिनुहोस् ।”

यसबारे भोलि आइतबार होटल व्यवस्थापनसँग सरकारले थप छलफल गरी आवश्यक पहल गर्ने जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर