दुई महिनामा ३५२ अर्ब रेमिट्यान्स, भदौमा मात्रै १७४ अर्ब ६७ करोड
काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा नेपालको विप्रेषण रेमिट्यान्स) आप्रवाह ३३.१ प्रतिशतले वृद्धि भई रु. ३५२ अर्ब ८ करोड पुगेको छ।
अघिल्लो वर्षको सोही अवधिमा यो वृद्धि १५.८ प्रतिशत मात्र थियो। भदौ महिनामा मात्र विप्रेषण आप्रवाह रु. १७४ अर्ब ६७ करोड पुगेको छ, जुन अघिल्लो वर्षको सोही महिनाको रु. १२७ अर्ब ९९ करोड भन्दा उल्लेख्य वृद्धि हो। समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २७.६ प्रतिशतले वृद्धि भई २ अर्ब ५२ करोड पुगेको छ, अघिल्लो वर्षमा यस्तो आप्रवाह १४.२ प्रतिशतले बढेको थियो।
यसै अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु. ३८४ अर्ब ८८ करोड पुगेको छ, अघिल्लो वर्षको सोही अवधिमा यो राशि रु. २८७ अर्ब ७६ करोड रहेको थियो। वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या यस अवधिमा ९० हजार १९८, र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ४५ हजार ८८४ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यी सङ्ख्या क्रमशः ७६ हजार ४८५ र ४० हजार ५८३ रहेको थियो।
