दैलेखमा इन्धन भण्डारणको पुष्टि, पूर्वमन्त्री पाण्डेको पहल सफल

भक्तपुर । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका नेता एवं पूर्वउद्योगमन्त्री सोमप्रसाद पाण्डेको पहलमा सुरु गरिएको दैलेखमा पेट्रोलियम अन्वेषण्को नतिजा सार्वजनिक हुँदै जाँदा दैलेख नेपालको ऊर्जा स्रोतका रूपमा उदाउने सम्भावना देखिएको छ।
रफत सञ्चार क्लबमा आयोजित अन्तर संवाद कार्यक्रममा उद्योग मन्त्रालय सम्हालिसकेका पाण्डेले तीनपटक दैलेखको भ्रमण गर्दै त्यहाँ लुकेको इन्धनको स्रोतबारे अनुसन्धान गर्न पहल गरेका थिए। नेपालसँग तत्कालीन अवस्थामा प्राविधिक शक्ति अभाव भएकाले चीन सरकारसँग सहकार्य गर्न उनले प्रस्ताव राखेका थिए । चिनियाँ विज्ञ टोलीमार्फत गरिएको प्रारम्भिक अध्ययनले पेट्रोलको सम्भावना देखाएपछि चीनले ५ अर्ब रुपैयाँ बराबरको सम्झौता गरेको थियो।
जग्गा अधिग्रहण र स्थानीय समन्वयपछि २०७३ साल वैशाख २१ गतेदेखि औपचारिक रूपमा उत्खनन् प्रक्रिया अघि बढाइएको थियो भने पछिल्लो अध्ययनले दैलेखमा करिब ११२ अर्ब घनमिटर मिथेन ग्यास रहेको पुष्टि भएको पाण्डेले बताए ।
पूर्वमन्त्री पाण्डेले आफ्नो पहलको सफलताको अनुभव बाँड्दै भने, “यो केवल इन्धनको उत्खनन् होइन, नेपालको आर्थिक क्रान्तिको सुरुवात हो। जुन सपना बोकेर अघि बढेको थिएँ, आज त्यो साकार बन्दैछ।” उनले अन्य खनिज स्रोतको उत्खनन्मा सरकारको सुस्तता रहेको भन्दै गुनासोसमेत गरे। “देशमा यत्रा खनिज छन्, तर राजनीतिक इच्छाशक्ति कमजोर भएको कारण ती प्रयोगमा आउन सकेका छैनन्”, पाण्डेले भने ।
उनका अनुसार मुस्ताङमा रहेको युरेनियम खानीसम्बन्धी पनि चीनसँग प्रारम्भिक छलफल भइसकेको छ। यस्ता खनिज स्रोतको उपयोगबाट नेपालले आर्थिक आत्मनिर्भरताको बाटो समाउन सक्ने उनको भनाइ छ। दैलेख केवल पर्यटन र संस्कृति मात्र होइन, ऊर्जा स्रोतका दृष्टिले पनि राष्ट्रको आर्थिक अभिपृद्धिमा योगदान दिने केन्द्र बन्ने उनको विश्वास रहेको छ ।
हालसम्म बनेका सरकारमध्ये वर्तमान सरकार सबैभन्दा शक्तिशाली भएता पनि उनकै क्रियाकलापका कारण राजनीतिक पार्टी र सरकारप्रति वितृष्णा जागेको पूर्वमन्त्री पाण्डेको टिप्पणी थियो । नेपालको प्रगति अब आर्थिक क्रान्तिविना सम्भव नरको तर सरकारले त्यसतर्फ ध्यान दिन नसकेको उनको भनाइ छ । नेपालले छोटो समयमै आर्थिका क्षेत्रमा अग्रता लिन सक्ने सम्भावना बोकेका जलस्रोत, पर्यटन , कृषि, खनिज सम्पदाको उपयोग र उत्खनन्लागायका विषयमा सरकारले पहिले प्राथमिकता दिएर काम गरे नेपालको आर्थिक मुहारको कायापलट हुने पक्षमाथि पाण्डेले जोड दिए ।