डाइभर्सन बगाउँदा नारायणगढ-बुटवल सडक खण्ड अवरुद्ध

काठमाडौं । पूर्व-पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्किबास स्थित विनयी खोलाको डाइभर्सन बगाउँदा नारायणगढ बुटवल सडक खण्ड अवरुद्ध भएको छ । गए राति परेको वर्षा सँगै खोलामा आएको बाढीले विनयी खोलामा निर्माण गरिएको डाइभर्सन बगाएको प्रहरीले जनाएको छ । यसअघि हिजो दिउसो निर्माण गरिएको अस्थायी डाइभर्सन गए राति परेको वर्षासगै आएको बाढीले फेरि बगाएको हो । अहिले पूर्वपश्चिम राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक मधु नेपालले बताए ।
त्यस्तै वर्षाले बाटो चिप्लो र हिलो हुँदा दाउन्ने विश्वकर्मा मन्दिर क्षत्रे नजिक सवारीसाधन सञ्चालन गर्न कठिनाइ भएको छ । दाउन्ने क्षेत्रमा बाटो चिप्लो भएर सवारीसाधन उकालोमा उक्लन कठिनाइ भएपछि डाइभर्सन बगाए पनि सञ्चालन गर्दै आएको वैकल्पिक बाटो बन्द गरी सवारीसाधन रोकिएको सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक नेपालले बताए ।
विनयी खोलाको डाइभर्सन बगाउँदा यात्रुवाहक सवारीसाधन र साना सवारीसाधनहरू होङ्गसी गेटबाट सर्दी हुँदै वैकल्पिक सडकबाट सञ्चालन गरिँदै आइएको थियो । गत पुस महिनामा ओभर लोडको भारतीय गाडिएको ठक्करबाट पुल भाँचिएपछि डाइभर्सनबाट यातायात सञ्चालन हुँदै आएको हो । खोलामा पानीको बहाव घटेपछि डाइभर्सन मर्मतको काम गर्ने प्रहरीले जनाएको छ ।