आफूमाथि आलोचना र गालीगलौज मात्रै भइरहेको प्रधानमन्त्री ओलीको गुनासो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई असफल देखाउन विभिन्न कोणबाट नियोजित प्रयास भइरहेको बताएका छन्।
संघीय संसद भवन सोमबारमा आयोजित नेकपा एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले गरेका राम्रा कामको चर्चा हुनुको साटो निरन्तर आलोचना र गालीगलौज मात्रै भइरहेको गुनासो गरे। उनले सरकारका सकारात्मक कार्यको प्रशंसा गर्न नसक्ने र राम्रो कुरा सुन्नै नचाहने प्रवृत्तिलाई ‘घण्टाकर्ण’ सँग तुलना गरे।
‘सरकारका कुनै कामको चर्चा नगर्ने, राम्रो गर्यो भन्न नसक्ने, राम्रो कुरो देख्न नसक्ने, राम्रो कुरो सुन्न नसक्ने प्रवृत्ति छ,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यस्ता राम्रा कुरा सुन्दै नसुन्ने, आलोचना, विरोध, निन्दा, गालीगलौज जे पनि गर्न तयार हुने ‘घण्टाकर्ण’ प्रवृत्तिका मानिसहरू अहिले हामीमाथि र सरकारमाथि केन्द्रित भएर आक्रमण गरिरहेका छन्।’
प्रधानमन्त्री ओलीले आफ्नो सरकारले देशलाई ओरालो लाग्नबाट जोगाएर सकारात्मक दिशामा लगेको दाबी गरे। उनले भने, ‘हामीले राजनीति, अर्थतन्त्र, समाज, कला संस्कृतिलाई सकारात्मक ढंगले अगाडि बढाउने प्रयास गरेका छौं र सफल पनि भएका छौं। धेरै बिग्रिएको अवस्थाबाट सुधार गर्न केही समय लाग्छ, तर हामीले ओरालो लाग्ने क्रमलाई रोकेर सकारात्मक बाटोमा हिँडाएका छौं।’
उनले आर्थिक वृद्धिलगायत अर्थतन्त्रका सबै सूचकहरू सकारात्मक रहेको र यसबारे विस्तृत तथ्याङ्क पार्टीका अन्य सदस्यहरूले प्रस्तुत गर्ने बताए। प्रधानमन्त्री ओलीले विरोधीहरू जुनसुकै हालतमा पनि विरोध गर्न तयार रहेको टिप्पणी गरे। ‘एकातिर विरोधीहरू जे भए पनि विरोध गर्न तयार भएर बसेका छन्,’ उनले भने, ‘तर हामीले नीति तथा कार्यक्रमजस्तै बजेट पनि मुलुकको हितमा र उपयुक्त नै ल्याउनेछौं।’ उनले अर्थतन्त्र बिग्रिएको अवस्थाबाट सुधार गर्दै सुशासन र विकासको गतिलाई अगाडि बढाउने चुनौती सरकारसामु रहेको उल्लेख गरे।