साताको पहिलो दिन पनि नेप्से ओरालो यात्रामा

काठमाडौं । पछिल्लो ६ कारोबार दिन नेप्से लगातार घटेको छ । साताको पहिलो कारोबार दिन आइतबार पनि नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ । पछिल्ला ५ कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।
आइतबार नेप्से परिसूचक २.७९ अंक घटेर २६०९.०५ विन्दुमा झरेको छ । नेप्से घटेपनि यस दिन कारोबार रकम भने बढेको छ । अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ७ अर्ब ८ करोडको शेयर खरिदबिक्री भएको बजारमा आइतबार ८ अर्ब ५० करोड ९२ लाख २१ हजार रुपैयाँ बराबरको १ करोड ६९ लाख ७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
१३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसुचक घटेको छ। यस दिन अन्य उपसमूहको परिसूचक सर्वाधिक ४.३० प्रतिशत बढेको छ। त्यस्तै, यस दिन लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक ३.७५ प्रतिशत घटेको छ।
यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन ओम मेगाश्री फर्मास्यूटिकल्स र छ्याङ्दी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य यस दिन सर्वाधिक ९.७८ प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ७० करोड ३७ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ।