हावाहुरीले बत्ती जाँदैमा लोडसेडिङ होइन, लोडसेडिङ हुँदैन : निर्देशक शाक्य

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बिहीबार र शुक्रबार आएको विद्युत् प्रणालीको समस्या प्राविधिक रहेको र यसमा लोडसेडिङको कुरै नरहेको बताएका छन् । उनले प्राधिकरणमा नेतृत्व फेरिएकै कारण विद्युत् आपूर्तिमा समस्या नआएको पनि स्पष्ट पारे ।
काठमाडौंलगायत देशका विभिन्न स्थानमा शुक्रबार अवरुद्ध विद्युत् आपूर्तिबारे जानकारी दिन हिजो शुक्रबार प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा उनले अहिलेको मौसमका कारण समस्या आएको स्पष्ट पारे । विगतका वर्षमा पनि चैतदेखि जेठसम्म यस प्रकारका समस्या आउने गरेको बताउँदै उनले वर्षा सुरु हुनुअघि केही दिन हावाहुरी र पानीका कारण समस्या आए पनि अन्य समयमा सामान्य हुने बताए । बत्ती जानुमा अहिले अन्य कारण केही नभएको दाबी पनि उनको थियो ।
समस्या आइसकेपछि कराउने नभई समयमै सुधार्नुपर्ने उनको भनाइ छ । समस्याको पहिचान भएको र त्यसलाई सुधार्नेतर्फ आफू लागि परेको उनले बताए । प्राविधिक समस्याले विद्युत् आपूर्तिमा गडबडी हुँदा लोडसेडिङ नै भयो भनेर हल्ला नफिजाउन आग्रह गर्दै कार्यकारी प्रमुख शाक्यले समस्या समाधानका लागि आफूले जानेका सबै कुरा गर्ने स्पष्ट पारे ।
उनले भने, “पश्चिमको लाइन ट्रिप भएका कारणले दुई घण्टा विद्युत् प्रसारण अवरोध भएको हो । करिब ८ बजे मात्र ढल्केबर–मजफरपुर प्रसारण लाइन नियमित भएसँगै विद्युत् आपूर्ति सहज भयो । त्यसैले ढल्केबर–मजफरपुर लाइन कति महत्त्वपूर्ण छ भन्ने कुरा हिजोको घटनाले पनि पुष्टि गरेको छ ।”
उनले यस प्रकारका सानातिना समस्यामा चिन्ता नलिन र विगतको भन्दा राम्रो गर्ने गरी काम भइरहेको आश्वासन दिए ।