दुर्घटना स्थल दास ढुंगामा अध्ययन केन्द्र निर्माण हुँदै

काठमाडौं । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र पार्टीका सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको दुर्घटना भएको स्थानलाई अध्ययन केन्द्र बनाउने कामको थालनी भएको छ । पोखराबाट चितवन आउने क्रममा मुग्लिङ–नारायणगढ सडकखण्डको दासढुङ्गामा २०५० जेठ ३ गते जिप दुर्घटनामा परी उनीहरूको मृत्यु भएको थियो । मृत्यु भएको स्थान दासढुङ्गा क्षेत्रमा पार्क र सडकमाथि उत्तरतर्फको खाली स्थानमा अध्ययन केन्द्र निर्माण सुरु भएको एमालेका नेता डा. तिलचन्द्र भट्टराईले जानकारी दिए ।
प्रदेश सरकारको लगानीमा पूर्वाधार निर्माण भइराखेको हो । जिप त्रिशूली नदीमा खसेको स्थानमा मदन र अश्रितको सालिक निर्माण गरिएको छ । त्यस स्थानमा नदीले कटान गर्न थालेपछि तारजाली लगाउने, संरक्षण गर्ने, व्यवस्थित पार्क निर्माण गर्ने, शौचालय, खानेपानी, बस्ने स्थान र आकर्षक पार्क निर्माणको काम भइराखेको भट्टराईले जानकारी दिए । निर्माण पूरा भएपछि यहाँ आउनेले शान्त वातावरणमा बसेर दुर्घटना स्थल अवलोकन गर्न सक्ने गरी संरचना निर्माण गर्न थालिएको छ ।
त्यस्तैगरी राजमार्गबाट उत्तरतर्फ रहेको स्थानमा अध्ययन केन्द्र भवन निर्माणको अन्तिम चरणमा पुगेको छ । तीन तला निर्माण गरिएको यस भवनमा मदन भण्डारी र आश्रितको फोटो, उनीहरूको जीवनीबारे पुस्तक, श्रव्य सामग्री, राजनीतिक पुस्तकलगायतका सामग्री राखिने छन् । एमालेले दुर्घटना स्थललाई राजनीतिक, ऐतिहासिक केन्द्रका रूपमा विकास गर्ने भन्दै पहिलादेखि नै पहल गर्दै आएको थियो । मदन आश्रितको ३२ औँ स्मृति दिवस जेठ ३ गते दुर्घटना स्थल दासढुङ्गा, शव भेटिएको स्थान भरतपुरको गाजीपुरमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ । भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादलाई अहिले पनि पार्टीले मूल नीति बनाएर अगाडि बढेको छ ।