काठमाडौं उपत्यकाको चक्रपथ बाहिरी क्षेत्रमा पनि मेलम्चीको पानी वितरण गरिने

काठमाडौं । काठमाडौं उपत्यकाको चक्रपथ बाहिरका क्षेत्रमा पनि मेलम्चीको पानी वितरण गर्न सञ्जाल निर्माण सुरु गरिएको छ । मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) ले काठमाडौं उपत्यका खानेपानी सुधार आयोजना (दोस्रो चरण) अन्तर्गत काठमाडौंको चक्रपथबाहिर पनि मेलम्चीको पानी वितरण सञ्जाल निर्माण गर्न सुरु गरेको हो ।
निर्देशनालयका निर्देशक टीकाबहादुर चौधरीले नेपाल सरकारको बजेट र एसियाली विकास बैङ्क (एडिबी) को सहयोगमा काठमाडौंको बूढानीलकण्ठ, गोकर्णेश्वर, कीर्तिपुर, चन्द्रागिरि र भक्तपुरको सूर्यविनायक र मध्यपुर थिमी नगरपालिकामा मेलम्चीको पानी वितरण सञ्जाल निर्माण सुरु गरिएको हो ।
उनका अनुसार भक्तपुर नगरपालिका र सूर्यविनायक नगरपालिकाका विभिन्न क्षेत्रमा गरी १५१.३० किलोमिटरमा पानी वितरण सञ्जाल निर्माण सुरु भइसकेको छ । त्यसैगरी काठमाडौं, कीर्तिपुर र चन्द्रागिरि नगरपालिकाका विभिन्न क्षेत्रमा गरी कुल ७५.९८ किलोमिटर, मध्यपुर थिमी नगरपालिका क्षेत्रमा ३०८.१५ किलोमिटर, कपन र जोरपाटी उत्तरी क्षेत्रमा गरी २००.२३ किलोमिटर र जोरपाटी दक्षिण र पेप्सीकोला क्षेत्रमा १३९.७४ किलोमिटर गरी कुल ८७५.४ किलोमिटर प्लास्टिक (पिई) पाइप र ४६.४८ किलोमिटर फलामको (डिआई) पाइप बिछ्याउन लागिएको हो ।
भक्तपुर, कीर्तिपुर, थिमी, कपन र जोरपाटी उत्तर तथा जोरपाटी दक्षिण र पेप्सीकोला क्षेत्र गरी विभिन्न पाँच चरण (प्याकेज) मा वर्गीकरण गरी खानेपानी वितरण सञ्जाल निर्माण गर्न लागिएको छ। खानेपानी वितरण सञ्जालबाट ती क्षेत्रका करिब ६३ हजार घरधुरी लाभान्वित हुने र खानेपानी वितरण सञ्जाल निर्माण कार्य अबको तीन वर्षभित्र सम्पन्न गरिने छ ।
यसअघि काठमाडौं उपत्यका खानेपानी सुधार आयोजनाअन्तर्गत उपत्यकामा करिब तीस किलोमिटर ‘प्राइमरी पाइपलाइन’ र ३३ किलोमिटर नयाँ पाइपलाइनको सञ्जाल निर्माण भइसकेको छ । त्यसैगरी आयोजनाको पहिलो चरणमै उपत्यकाका विभिन्न नौ स्थानमा दस वटा पानीपोखरी निर्माण र सुन्दरीजलस्थित खानेपानी प्रशोधन केन्द्रबाट उपत्यकाका विभिन्न स्थानमा रहेका पानीपोखरीमा थोक रूपमा पानी आपूर्ति गर्न थोक वितरण प्रणालीका ७७ किलोमिटर पाइपलाइन बिछ्याउने कामसमेत सम्पन्न भइसकेको छ ।