आगामी बजेटका प्राथमिकता सदनमा पेश

काठमाडौं ।  सरकारले आगामी आर्थिक बर्ष २०८२/०८३ को बजेटका प्राथमिकता सदनमा पेश गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको विनियोजन विधेयक क्षेत्रगत प्राथमिकता प्रस्तुत गरेका हुन् ।

बजेटले रोजगारी सिर्जना, स्वरोजगार प्रवर्द्धन र गरिवी निवारण लाइ मुख्य प्राथामिकतामा राखेको छ । बजारको माग अनुरूप सीपयुक्त र दक्ष जनशक्ति विकास गरी रोजगारीमा आवद्ध गरिने र स्वरोजगार प्रवर्द्धन गर्न युवा लक्षित उद्यमशीलता विकास र आधुनिक प्रविधिको प्रयोगमा जोड दिइएको छ ।

यसैगरी मुलुकको अर्थतन्त्रलाई गतिशील तुल्याउन कानूनी, संस्थागत र प्रक्रियागत सुधार गरिनेछ। आर्थिक क्षेत्रका नियामकीय निकायको भूमिकालाई सुदृढ बनाइने विषयलाई प्राथामिकतामा राखिएको छ । निजी क्षेत्रको लगानी प्रवर्द्धन गर्न थप अनुकूलता सिर्जना गरिनेछ। मुलुकलाई सन् २०२६ सम्ममा विकासशील राष्ट्रमा स्तरोन्नति गर्दै सन् २०३० सम्ममा दिगो विकास लक्ष्य हासिल गर्न आवश्यक तयारीका लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका सुझावहरू क्रमश: कार्यान्वयन लगिने विषयलाइ प्राथामिकतामा राखिएको छ ।

त्यसैगरी कृषि क्षेत्रको व्यवसायीकरण कृषि क्षेत्रलाई यान्त्रिकीकरण र व्यावसायीकरण गरी उत्पादन र उत्पादकत्व बढाउन तथा खाद्य सुरक्षा सुनिश्चित गर्न आवश्यक कार्यक्रम सञ्चालनमा जोड दिएको छ । कृषि क्षेत्रको इकोसिष्टम प्रभावकारी बनाउँदै  कृषि फार्ममार्फत् व्यावसायिक खेती प्रवर्द्धन गर्न विशेष प्रोत्साहन गरिनेछ। सामुहिक तथा करार खेती प्रणालीलाई सहजीकरण गर्दै युवालाई कृषिमा आकर्षित गर्न नीतिगत व्यवस्था गर्ने, कृषिमा प्रदान गरिँदै आएका सबै प्रकारका अनुदानको पुनरावलोकन गरी उत्पादनमा आधारित बनाइनेछ। प्राङ्गारिक तथा रैथाने खेतीलाई प्रोत्साहित गर्ने विषयलाई बजेटको उच्च प्राथामिकतामा राखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर