देशलाई कंगाल बनाउने काम राजाहरु गरे : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजाहरुले देशलाई कंगाल बनाएको बताएका छन्। काठमाडौंमा शनिबार दोस्रो राष्ट्रिय वन संवर्द्धन गोष्ठीलाई सम्बोधन गर्दै उनले बताएका हुन् ।
उनले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै देशलाई आजको जमानासम्म गरिबी बनाएर राख्नेहरुले हामी आउँछौँ, साथ देउ भनिरहेको देख्दा अचम्म लागेको बताए। देश कंगाल बनाउने काम राजाहरु गरेको उनको आरोप छ। अहिले ३० वर्षमै देश कोल्टे फेर्ने गरी विकास भएको बताए। देशलाई विकसित, बस्न लायकको बनाउनैपर्ने बताए।
प्रधानमन्त्री ओलीले भने- ‘अचम्म त के भने यो देशलाई यसरी आजको जमानासम्म गरिब बनाएर ल्याउनेहरु फेरि हामी नभइ भएन, हामी आउँछौँ, साथ देउ, भनेर लाजै मान्दैन। यो देश कंगाल बनाउने त यिनीहरु हुन् त। अहिले यत्रो विकास, यो ३० वर्षमा यति विकास गरेको छ। तथ्यांक, आँकडाले बताउँछ। मान्छे नहुँदा जंगलमा मुलुक थियो होला। त्यसपछि के भयो ? हामी देश बनाउनै पर्छ, देशलाई विकसित बनाउनैपर्छ। देशलाई बस्न लायकको बनाउनुपर्छ, वातावरणीय हिसावले हेर्नुस्, हिमाल, पहाड छन्,यस्तो स्वच्छ, पवित्र छ। यो त देवभूमि हो। यस्तो ठाउँ, अक्सिजन नै अक्सिजन भएको ठाउँ छ। यस्तो देशमा फोक्साको व्यापारी ? कहाँबाट आयो यो फोक्साको व्यापारी नेपालमा।’
सूर्यबहादुर थापाले सालघारी फाँडेर मान्छे बसाएर उधुम गरे
उनले विकास र वातावरणमा सन्तुलन जरुरी रहेकामा जोड दिए । पञ्चायतलाई जिताउन तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले ०३६ सालमा वैज्ञानिक वन व्यवस्था भनेर सालघारी फँडानी गरेको उनले आरोप लगाए ।
“विकास र वातावरणमा सन्तुलन जरुरी छ । तर, वन क्षेत्रमै सालघारी फाँड्ने काम फँडानी यस्तो वैज्ञानिक वन व्यवस्था त पञ्चायतलाई जिताउन सूर्यबहादुर थापाले ०३६ सालमै एकपटक गरिसकेका हुन् । गज्जबले गरेका हुन् । सालघारी फाँडेर मान्छे बसाएर उधुम गरेर गरेका हुन्,” उनले भने । उनले वैज्ञानिकताका नाममा गरिएको सालघारी फँडानीको विरोध आफूहरूले गरिरहेको बताए । सालघारी फँडानीको काम रोकिनुपर्नेमा उनले जोड दिए ।
नेपाललाई ४६ प्रतिशत जंगल भए पुग्छ
‘हरियो वन, नेपालको धनको नारा पुरानै भए पनि धनको रुपमा वनको सदुपयोग भएको थिएन तर अहिले हामीले एउटा संकल्प लिएका छौँ किन वनको विनास हुन नदिएर सौर्यमण्डलको सार्थकताका लागि वन संरक्षण गरेर कसरी उपयोग गर्न सकिन्छ भनेर लागेका छौँ ।’, प्रधानमन्त्री ओलीले भने, ‘वन क्षेत्रको संरक्षण हामीले बढाएका छौँ । अब यसको विस्तार गर्नमा भन्दा उत्पादनमा जानुपर्छ । वनको व्यावसायिक उपयोगका लागि हतार पनि नगर्ने र ढिलो पनि नगर्ने नीति लिनुपर्छ ।’ हाल नेपालमा हाल ४६ प्रतिशत वनको भाग रहेको छ। प्रधानमन्त्रीले नेपाललाई ४६ प्रतिशत जंगल भए पुग्ने भन्दै इकोसिस्टम जोगाएर काठबाट फाइदा लिनुपर्ने बताए ।