साताको पहिलो दिनमै नेप्से परिसूचकमा गिरावट

काठमाडौं । साताको पहिलो दिनमै नेप्से परिसूचकमा गिरावट आएको छ । आज आइतबार नेप्से परिसूचक ३.४४ अङ्क घटेर २६२०.३९ विन्दुमा पुगेर कारोबार बन्द भएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स ०.५१ अङ्कले र फ्लोट इन्डेक्स ०.०७ अङ्कले घटेको छ भने सेन्सेटिभ फ्लोट इन्डेक्स भने ०.०६ अङ्कले बढेको छ ।
कारोबारमा आएका ३२२ कम्पनीको २ करोड १९ लाख ५ हजार कित्ता शेयर ९ अर्ब २४ करोड ५५ लाख ८३ हजार रूपैयाँ बराबरको खरिदबिक्री भएको छ । अघिल्लो कारोबारको तुलनामा आइतबार कारोबार रकम पनि घटेको छ । बुधवार ९ अर्ब ३७ करोडको शेयर खरिदबिक्री भएको थियो ।
आइतबार १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ । जसमा बैंकिङ्ग, विकास बैङ्क, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक सामान्य बढेको छ । नेप्से परिसूचक सामान्य अङ्कले घटेपनि ३ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स र ओम मेगाश्री फर्मास्यूटिकल्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
कारोबारमा आएको विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य १० प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा सानिमा माई हाइड्रोपावर कम्पनीको ६० करोड ४८ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।