मेलम्चीमा बाढी आएसँगै काठमाडौंमा पानी आपूर्ति बन्द

काठमाडौं । वर्षाका कारण मेलम्चीमा बाढी आएसँगै काठमाडौंमा पानी आपूर्ति बन्द गरिएको छ। धमिलो पानी आउँदा तत्कालका लागि पानी बन्द गरिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयूकेएलका प्रवक्ता प्रकाशकुमार राईले बताए।
मेलम्ची नदीमा बाढीसँगै धमिलो पानी आएको छ। धमिलो पानीलाई फिल्टर गने क्यापासिटी हाम्रो ट्रिटमेन्ट प्लान छैन। त्यसैले पानी डाइभर्ट गरेका छौँ। पुनः पानी वितरण गर्न वर्षाअनुसार हुन्छ। वर्षा रोकिएको खण्डमा केही दिनमै पुनः पानी वितरण गर्ने अवस्था हुन्छ’, राईले भने।
मेलम्ची नदीमा पानीको बहाव पनि बढेकाले खानेपानी आयोजनाको संरचनामा क्षति पुग्नबाट रोक्न पानी बन्द गर्नुपरेको केयूकेएलले जनाएको छ। क्षेत्रपाटी, महांकाल, भक्तपुर, मध्यपुर ठिमी, त्रिपुरेश्वर, बानेश्वर, कीर्तिपुर, महाराजगन्ज र ललितपुर गरी नौवटा शाखाबाट पानी वितरण हुन्छ।
राईका अनुसार केयूकेएलअन्तर्गत काठमाडौंमा एक लाख ८० हजार, ललितपुरमा ५६ हजार र भक्तपुरमा २० हजार धारा छन्। उपत्यकामा खानेपानीको माग दैनिक ४७ करोड लिटर रहेको केयूकेएलले जनाएको छ। (तस्बिरःफाइल)