शिक्षक आन्दोलनबारे गम्भीर हुन सांसदहरुको माग

काठमाडौं । प्रतिनिधिसभाको आज बसेको बैठकमा विपक्षी दलका सांसदले उठेर विरोध जनाएका छन् । प्रतिपक्षको विरोधपछि सभामुख देवराज घिमिरेले नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिए ।

सांसद पाण्डेले संसद्मा सोमबार दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गरिनुपर्ने बताए । शिक्षकहरु लामो समयदेखि सडक आन्दोलनमा रहेकामा उनीहरुका जायज माग सम्बोधनका लागि पहल गर्न सोमबार पाण्डे प्रस्तावक रहेको जरुरी सार्वजनिक महत्वको प्रस्ताव संसद्मा दर्ता भएको थियो । उक्त प्रस्तावमाथि आजै संसद्मा छलफल चलाउन र समस्याको समाधान खोज्न पाण्डेले सभामुखमार्फत ‘रुलिङ’ माग गरे ।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले आन्दोलनरत शिक्षकका जायज माग सम्बोधन गर्नका लागि सरकार गम्भीर रहेको दाबी गरे ।
शिक्षकहरुसँग तत्काल वार्ता गरी समस्याको समाधान गर्न र वार्ताबाटै विषय टुङ्गाउनु आवश्यक रहेको उनले बताए । “सदनमा उठेका विषयमाथि सरकार गम्भीर भएर शिक्षामन्त्रीले शिक्षक प्रतिनिधिहरुसँग निरन्तर छलफल र वार्ता गरिरहनुभएको छ”, आज साँझ सम्ममा निकास निस्कनेमा आफू आशावादी भएको उनले बताए ।

सांसद प्रेम आलेले पोखरा र भैरहवा विमानस्थलमा भएको आर्थिक हिनामिनाको निष्पक्ष छानबिनको माग गरे । सांसद शोभा ज्ञवालीले देशका विभिन्न भागमा जङ्गली जनावरको आक्रमण बढेकामा चिन्ता व्यक्त गर्नुहुँदै समस्याको समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराइन् । सांसद ज्ञानबहादुर शाहीले आन्दोलनरत शिक्षकका समस्या समाधानका लागि गम्भीर हुन सरकारलाई आग्रह गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर