राष्ट्रिय गौरवका आयोजनाहरूलाई पुनः विचार गर्न जरुरी : रक्षामन्त्री राई

काठमाडौं । रक्षामन्त्री मानवीर राईले राष्ट्रिय गौरवका आयोजनाहरूलाई पुनः विचार गर्न जरुरी रहेको बताएका छन् । प्रतिनिधिसभाको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको सिंहदरबारमा मङ्गलवार बसेको बैठकमा उनले सरकारले अध्ययन गरी राष्ट्रिय गौरवका आयोजनाहरू घटाउन सके घटाउन जरुरी रहेको बताएका हुन् ।
उनले धेरै घोषणा हुने तर काम नहुने स्थिति रहेको भन्दै आर्थिक अवस्थाले नधान्ने र अनावश्यक घोषणा गरेर राख्ने काम गर्न नहुनेमा जोड दिए । थुप्रो राष्ट्रिय गौरवका आयोजना घोषणा गरेर लथालिङ्ग राख्नुभन्दा आफूले गर्न सकिने मात्रै गर्न पाए राम्रो हुने मन्त्री राईको भनाइ छ ।
मन्त्री राईले भने, ‘राष्ट्रिय गौरवका आयोजनाहरू मेरो पनि मत छ, यसलाई पुनः विचार गर्नुपर्छ । अलिकति अध्ययन गरेर घटाउनुपर्छ भने पनि घटाऊँ । थुप्रो घोषणा गर्ने, काम हुँदै नहुने, हाम्रो आर्थिक अवस्थाले धान्दै धान्दैन भने अनावश्यक घोषणा गरेर किन राख्ने ? सक्ने मात्रै गरौँ भन्ने मेरो पनि मत छ । मैले त्यो कुरो राखेको पनि छु । कुनै परेकै छैन, राष्ट्रिय गौरवको आयोजनामा नराखी नहुने छ भने त्यसलाई राखौँ तर थुप्रो राष्ट्रिय गौरवका आयोजना घोषणा गरेर लथालिङ्ग राख्नु भन्दा आफूले गर्न सकिने मात्रै गर्न पाए हुन्थ्यो, भनेर मेरो पनि मत छ । क्याबिनेटमा मेरो पनि आफ्नो मत छ । मैले बारम्बार भनिरहेको छु ।’
रक्षा मन्त्री राईले फास्ट ट्र्याक निर्माण भइरहेका क्षेत्रका सांसदहरूसँग छलफल गर्ने पनि बताए । उनले गाडीबाटै अनुगमन गर्न जाने र त्यसको निष्कर्ष निकाल्ने प्रयासमा आफू रहेको बताए ।