दुबै खुट्टा नभएका हरि बुढामगर सगरमाथाको चुचुरोमा

काठमाडौँ । दुबै खुट्टा नभएका पूर्वब्रिटिस गोर्खा सैनिक हरि बुढामगर सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्न सफल भएका छन् । वसन्त ऋतुको जारी आरोहणमा बुढामगर यही जेठ ५ गते दिउँसो ३ सगरमाथाको चुचुरोमा पुगेका हुन् । यससँगै पूर्व गोर्खा सैनिक बुढामगर सगरमाथाको चुचुरो चुम्ने पहिलो ‘डबल एम्प्युटी एभोब नी’ (घुँडा माथिबाट दुवै अङ्ग विच्छेदन) व्यक्तिको विश्व रेकर्ड कायम गरेका छन् ।
कृत्रिम खुट्टा (प्रोस्थेटिक) को सहायताले बुढामगरले सगरमाथा आरोहण गरेका हुन् । रोल्पाको थबाङ गाउँपालिकाको मिरुल घर भएका बुढामगरले ब्रिटश सेनामा रहँदा अफगानिस्तानको लडाइँमा सन् २०१० मा आफ्ना दुवै खुट्टा घुँडाभन्दा माथिबाट गुमाएका थिए ।
बेलायती सेनामा भर्ना हुनुअघि सगरमाथा आरोहण गर्ने उनको सपना थियो । सगरमाथाको चुचुरोमा पुगेपछि बुढामगरले खुशीका साथ जोडले चिच्चाउँदै भनेका थिए । “हामी सफल भयौँ ।” हरिको आरोहणका लागि एचएसटी एडभेन्चर्सका कृष थापा एक्सपिडिसन लिडरका रूपमा थिए ।