नक्क्ली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन तयार गर्दै प्रहरी

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले तयार पारेको अनुसन्धान प्रतिवेदन आइतबार जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी भएको छ । नेपाल प्रहरीले चैत १२ गतेदेखि पीडितहरूको उजुरीका आधारमा नक्कली भुटानी शराणार्थी प्रकरणको अनुसन्धान सुरु गरेको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता सीताराम रिजालले अनुसन्धानमा देखिएका कतिपय विषयमा थप प्रमाणसहित पूरक प्रतिवेदन पेस गर्ने गरी अनुसन्धान प्रतिवेदन बुझाउने तयारी भइरहेको जानकारी बताए ।
अनुसन्धानका क्रममा सागर राई र सन्देश शर्मा पक्राउ परेसँगै फेलापरेका प्रमाणका आधारमा तत्कालीन गृहमन्त्री र गृहसचिवसहित ठूलो गिरोहको मिलेमतो देखिएको थियो। गत वैशाख १९ गते इन्द्रजित राई र २० गते पूर्वगृहसचिव टेकनारायण पाण्डेको बयानसँगै रकम लेनदेनको प्रमाणका आधारमा वैशाख २७ गते पूर्वगृहमन्त्री बालकृष्ण खाण र उनका सहयोगी नरेन्द्र केसीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। वैशाख २० गते पक्राउ पुर्जी जारी भएपछि फरार भएका पूर्वउपप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सचिव हाल (निलम्बित) टोपबहादुर रायमाझीलाई वैशाख ३१ गते र पूर्वसंविधानसभा सदस्य आङ्टावा शेर्पालाई जेठ १ गते पक्राउ गरिएको थियो।
त्यस्तै नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँ र भुटानी मानव अधिकारकर्मी नेता टेकनाथ रिजाललाई जेठ ४ गते पक्राउ गरिएको थियो। पक्राउ परेका १६ जनालाई अनुसन्धान प्रतिवेदनसहित आइतबार जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी भएको छ। पक्राउ पुर्जी जारी भएपछि फरार रहेका रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापा, इन्द्रजित राईका छोरा निरज राई प्रत्यक्ष रूपमा रकम लेनदेनमा संलग्न रहेको र अन्य १४ जनाको भूमिका बिचौलिया र सहयोगीको रहेको पाइएको छ।