सगरमाथाको चुचुरोमा ३ सय २५ आरोही पुग्न सफल

काठमाडौँ । वसन्त ऋतुमा यो वर्ष हालसम्म ३ सय २५ जनाभन्दा बढी आरोही सगरमाथाको चुचुरोमा पुगेका छन् । गत शनिबारबाट सुरु भएको यस वर्षको सगरमाथा आरोहणका लागि ६५ देशका ४ सय ७८ आरोहीले अनुमति लिएका थिए ।
पर्यटन विभागका अनुसार आरोहणको बाटो खुलेसँगै विभिन्न एजेन्सीमार्फत आरोहीले सगरमाथा आरोहण जारी राखेका छन् । विभागका निर्देशक युवराज खतिवडाका अनुसार बिहीबार अबेरसम्म ३२५ जनाभन्दा बढीले आरोहण पूरा गरे पनि यकिन तथ्याङ्क आउन बाँकी छ ।
“गत वर्षभन्दा एक साता ढिलो गरी सुरु भएको सगरमाथा आरोहणमा पछिल्लो एक सातामा उल्लेख्य आरोही चुचुरोमा पुगेका छन्,” उनले भने, “बिहीबार सगरमाथा क्षेत्रको मौसम प्रतिकूल बनेपछि २५ जना आरोहीले विभिन्न शिविरबाट उद्धार गरेर आधार शिविर ल्याइएको छ ।” निर्देशक खतिवडाले हालसम्म मौसमले साथ दिएको र पुनः मौसममा सुधार आएसँगै बाँकी आरोही चुचुरोतर्फ लाग्ने बताए । उनले आरोहणका लागि खुला गरिएका अन्य अधिकांश हिमालमा समेत यस वर्ष आरोहण राम्रो भएको जानकारी दिए ।
विभागका अनुसार यस सिजनमा सगरमाथासहित २८ हिमाल आरोहणका लागि ८० देशका एक हजार १७६ जनाले अनुमति लिएका छन् । सरकारले यस पटक आरोहण अनुमतिबाट ७६ करोड ५७ लाख रुपियाँ सलामी दस्तुरबापत राजस्व सङ्कलन गरेको छ । (तस्बिरः सांकेतिक)