करिब १३ अर्ब रुपैयाँको कारोबारसहित नेप्सेमा उछाल
काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजारमा उछाल देखिएको छ । यसदिन कारोबार रकमसहित नेप्से परिसूचक अंकले बढेको छ । आज नेप्से सूचक ६९.८० अंकले बढेर दुई हजार ७२७.५८ अंकको बिन्दुमा उक्लिएको छ । नेप्सेले करिब दुई महिनापछि २७ सय बिन्दु पार गरेको हो । यसअघि गत मंसिर मंसिर २६ गते दुई हजार ७१५ अंकमा पुगेकोमा त्यसयता २७०० बिन्दुमुनि खुम्चिँदै आएको थियो ।
यस्तै आज कारोबार रकम पनि बढेको छ । आइतबार १२ अर्ब ९५ करोड ५७ लाख रुपैयाँ बराबरको २ करोड ४८ लाख ४८ हजार कित्ता शेयर कारोबार भएको छ । जुन ५ महिनायताकै उच्च हो । यसअघि गत भदौ १८ गते १३ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको थियो । आज १३ वटै उपसमूहको शेयरमूल्य बढेको छ भने कारोबारमा आएका २४२ कम्पनीमध्ये २०२ कम्पनीको शेयर बढ्दा ३७ कम्पनीको शेयरमूल्य घटेको छ । ३ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
आज ९ वटा कम्पनीको शेयरमा सर्किट लागेको छ । उन्नति सहकार्य, ग्लोबल आईएमई लघुवित्त, अभियान लघुवित्त, विजय लघुवित्त, भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी, ग्रामिण विकास लघुवित्त, एनएमबि माइक्रोफाइनान्स, समता घरेलु लघुवित्त र न्यादी हाइड्रोपावरको शेयर १० प्रतिशतले बढेको हो । सामुदायिक लघुवित्तका लगानीकर्ताले भने सर्वाधिक १० प्रतिशत गुमाएका छन् ।
