सहकारीको रकम हिनामिनाको आरोपमा म्याग्दीका जिसस प्रमुख पक्राउ

काठमाडौं ।  म्याग्दीको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापा सहकारी ठगीको आरोपमा पक्राउ परेका छन् । कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय म्याग्दीले आइतबार बिहान थापालाई पक्राउ गरेको हो ।

थापा सहकारीको पूर्वसञ्चालक समितिको उपाध्यक्षसमेत हुन् । सहकारीको रकम हिनामिना गरेको उजुरीका आधारमा अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए । उनका अनुसार थप अनुसन्धान सुरु गरिएको छ ।

प्रमुख थापासहित अन्य सहकारीका व्यक्तिहरूमाथि पनि उजुरी परेको प्रहरी जनाएको छ । सहकारी रजिस्ट्रारको कार्यालय पोखराले एक वर्षअघि गरेको छानबिन प्रतिवेदनमा थापाको समूहले सहकारीको करिब डेढ अर्ब रुपैयाँ हिनामिना भएको उल्लेख छ । सहकारीमा रहेको सर्वसाधारणको बचत रकम तत्कालीन सहकारीका सञ्चालकहरूले ढुकुटी खेलाउने, निजी स्कुल र घरजग्गामा लगाउनेजस्ता व्यक्तिगत स्वार्थमा प्रयोग गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । २०७९ साल माघ २८ गते सहकारीका अध्यक्ष यमबहादुर रोकाले सहकारी रजिस्ट्रारको कार्यालयमा लिखित निवेदन दिएर सहकारी रकम छानबिनका लागि समेत माग गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर