सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह सम्पन्न
काठमाडौं । आज परम्परागत रूपमा आज अपराह्न सैनिक मञ्च टुँडिखेलमा ‘फूलपाती बढाइँ समारोह–२०८१’ सम्पन्न गरिएको छ। समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपति रामचन्द्र पौडेलको सम्मानमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो। उक्त समारोहमा सेनाको टोलीले राइफलबाट लहरे र एकठ्ठा तथा तोपबाट पनि बढाइँ गरेको थियो। समारोहमा सैनिक परेड प्रदर्शन, दुर्गा नाचका साथै सेनाको हेलिकप्टरबाट ‘फूलपाती बढाइँ समारोह–२०८१’ व्यानर प्रदर्शन र पुष्पवृष्टि गरिएको थियो।
फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रम मानिन्छ। नेपाली सेनाले सैनिक मञ्चमा हर्षोल्लासपूर्वक फूलपाती बढाइँ गर्ने प्रचलन छ। गोरखाबाट ल्याइएको जमरा र फूलपाती हनुमानढोका दसैँघरमा साइत जुराएर भित्र्यासँगै टुँडिखेलमा फूलपाती बढाइँ गर्ने परम्परा छ। बडादशैँको सप्तमी अर्थात् फूलपातीका दिन सेनाले हरेक वर्ष सैनिक मञ्च टुँडिखेलमा भव्य समारोहका बीच फूलपाती बढाइँ गर्दै आएको छ। सैनिक मञ्चको बढाइँ हेर्न टुँडिखेल वरपर नागरिकहरूको बाक्लो उपस्थिति थियो।
हनुमानढोका दरबारको दसैँघरमा फूलपाती भित्र्याइयो
आश्विन शुक्ल सप्तमीका दिन आज राज्यका तर्फबाट नवदुर्गाको पूजाआराधना हुने हनुमानढोका दरबारको दसैँघरमा गोरखाबाट ल्याइएको फूलपाती भित्र्याइएको छ । गोरखाबाट धादिङको जीवनपुरसम्म दसैँघरका पूजारीसहित मगर जातिका छ जनाले ल्याउने र जीवनपुरबाट काठमाडौँको जमलसम्म काठमाडौँबाट गएका ब्राह्मण जातिका छ जनाले ल्याउने परम्परा रहेको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले जानकारी दिए।
जमलबाट हनुमानढोकासम्म निजामती सेवाका उच्चपदस्थ अधिकारीहरू, नेपाली सेनाको गुर्जुको पल्टन, ब्याण्डबाजा, पञ्चेबाजा र सांस्कृतिक नाचगानसहितको लावालस्करका साथमा फूलपाती ल्याइएको थियो । यस वर्ष शार्दूलजङ्ग गुल्म, नागार्जुनबाट गएको सशस्त्र प्रहरीको समूह, मङ्गल धुन गाउने मङ्गलिनी समूहको पनि सहभागिता रहेको उनले बताए।

