सम्पदा मासेर निर्माण गरिँदै गरेको संरचना रोक्यो चाँनपाले

 

भक्तपुर । सम्पदाको धनी जिल्ला भक्तपुरका चार नगरपालिका भित्र रहेका सम्पदाको संरक्षण तर्फ सरोकारावालाहरुको ध्यान पुग्न नसक्दा अतिक्रमणको चपेटामा परेका छन् ।

यस्तै ज्वलन्त उदाहरण बनेको छ भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ३ झौखेल स्थित झौखेल धारा क्षेत्रमा रहेको पुरातात्विक सम्पदा ।

उक्त क्षेत्रमा रहेको ऐतिहासिक सम्पदा मासेर धमाधम भौतिक संरचना निर्माण भइरहँदा समेत सरोकारावालहरुको ध्यान पुग्न नसक्नु दुःख्द रहेको सम्पदाप्रमीहरु बताउँछन् ।

इतिहास विद् प्रा.डा पुरूषोत्तमलोचन श्रेष्ठले विभिन्न समयमा गरिएको अनुन्धानबाट उक्त क्षेत्रमा पुरातात्विक सम्पदा भेटेपछी २०७० सालमा सार्वजनिक गरेका थिए । सम्पदाको महत्व बुझ्न नसकेरै होल हाल सोही सम्पदा क्षेत्रमा स्थानीयले धमाधम किरियापुत्री भवन निर्माण गरिरहेका छन् ।

प्रा.डा श्रेष्ठले एक दशक अघि सो क्षेत्रमा लिच्छविकालिन शिवदेव, अङ्शुबर्माको शिलालेख, सँगै बौद्ध चैत्य र प्राचिन पोखरी रहेको अनुसन्धानबाट पुष्टि गरिएको बताए । उनका अनुसार साविक पोखरी रहेको सो क्षेत्रमा हाल स्थानीयले पोखरी मासेर किरियापुत्री भवन बनाउँदै छन् ।

उनले भने , “सम्पदा मासेर भौतिक संरचना निर्माण हुँदा समेत सरोकारवालाहरुको ध्यान पुग्न नसक्नुले नेपाली सम्पदाको दयनिय अवस्था छर्लङ् भएको छ ।” सम्पदा क्षेत्रमा निर्माण हुँदै गरेको भौतिक संरचना तत्कालै रोकेर संम्पदा संरक्षण तर्फ जोड दिनु पर्ने श्रेष्ठ बताउँछन् ।

सम्पदा क्षेत्रमा निर्माण भइरहेको भौतिक संरचना तत्काल रोक्न स्थानीय सम्पदा प्रेमीहरुले चाँगुनारायण नगरपालिका र पुरातत्व विभाग अन्तर्गत भक्तपुर दरबार हेरचाह अड्डालाई ध्यानकर्षण गराएका छन् । अहिले पनि अङ्शु बर्माको शिलालेखमा चाँगुनारायण “थमखोप्रिङ्ग दङ्ग्र” माथिल्लो भक्तपुरको सहर थियो भन्ने उल्लेख छ । उक्त शिलालेखबाट चाँगुनारायण क्षेत्र प्राचिन सहर थियो भन्ने प्रष्ट भएको श्रेष्ठले बताए ।

भक्तपुर दरबार स्मारक संरक्षण तथा हेरचाह अड्डाका प्रमुख अरुना नकर्मीले सम्पदा क्षेत्रमा स्थानीयले भौतिक संरचना बनाएको दरबार स्मारक संरक्षण तथा हेरचाह अड्डाको प्रारम्भिक अनुगमनबाट संरचना निमार्ण कार्यलाई पूर्णरुपमा स्थगित गर्न चाँगुनारायण नगरपालिकालाई पत्राचार गरिएको बताइन् ।

स्मारक संरक्षित ऐनको दफा ३ को उपदफा बमोजिम संरक्षित स्मारक क्षेत्रभित्र कसैले टेलिफोन वा विद्युत् लाइन जडान गर्न, खानेपानी वा ढलको लागि जमिन खन्न सडक बनाउन वा मर्मत गर्न, चलचित्रको सुटिङ गर्न मेलापर्व नाचगान वा सवारी साधनको पार्किङ वा पोस्टर टाँस्नसमेत पुरातत्व विभागबाट स्वीकृति लिनुपर्ने उल्लेख गरिएको छ ।

उक्त संरचना निर्माण गर्दा कसैले पनि पुरातत्व कार्यालयबाट स्वीकृति नलिएको हेरचाह अड्डाले जनाएको छ ।

चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले सम्पदा क्षेत्रमा निमार्ण भएको भौतिक संरचना तत्कालै स्थगित गरेर सम्पदा संरक्षण तर्फ नगरपालिका अग्रसर बनेको बताए । नगरपालिका आफै सम्पदाको शहरका रुपमा परिचत रहेकाले नगरपालिका भित्रका सबै सम्पदाको संरक्षणमा नगपालिका लागि परेको प्रमुख खत्रीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर