बालकुमारी रुट प्रयोग गर्दा सुरक्षा निकायले अवरोधको सम्बन्धमा कुनै जानकारी गराएन : मन्त्री ज्वाला

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बालकुमारी घटनाको सन्दर्भमा आफूले सो रुट प्रयोग गर्दा त्यहाँ भइरहेको अवरोधको सम्बन्धमा सुरक्षा निकायले कुनै जानकारी नदिएको बताएका छन् ।

सञ्चारकर्मीसँग सोमबार कुरा गर्दै मन्त्री ज्वालाले गत शुक्रबार आफूले बालकुमारी क्षेत्रको रुट प्रयोग गर्दा सुरक्षा निकायले सो क्षेत्रमा भइरहेको अवरोधको सम्बन्धमा कुनै जानकारी नगराएको दावी गरे । गत शुक्रबार रोजगार अनुमति प्रणाली (इपीएस) आवेदन फारम भर्न नपाएको भन्दै बालकुमारी क्षेत्रमा युवाहरुले प्रदर्शन गरेका थिए । प्रदर्शनकारीले सोही रुट हुँदै आएको मन्त्री ज्वालाको गाडीमा आगजनी गरेका थिए भने प्रहरी हस्तक्षेपका कारण दुई जना युवाको ज्यान समेत गएको थियो ।

सोही विषयमा कुरा गर्नुहुँदै मन्त्री ज्वालाले आफू पार्टी केन्द्रीय कमिटी बैठकका लागि तीन दिनदेखि बालकुमारी आवतजावत गरिरहेको र सो दिन पनि बैठकस्थलबाट निस्किएर मन्त्रालय जाने क्रममा सो घटना भएको बताए। उनले आफ्नो सुरक्षा अधिकृतले केन्द्रमा आफूहरु बालकुमारीबाट मन्त्रालय निस्किएको जानकारी गराएको भए पनि प्रहरी केन्द्रबाट बाटोमा अवरोध भएको र त्यो बाटो प्रयोग नगर्ने सम्बन्धमा कुनै जानकारी नआएको स्पष्ट पारे । आफूहरुलाई बाटोमा अवरोध छ भन्ने कुरा जानकारी नै नभएका कारण त्यो रुट प्रयोग भएको उनको भनाइ छ ।

मन्त्री ज्वालाले घटनाप्रति आफू दुःखी रहेको भन्नुहुँदै दुःख पनि व्यक्त गरे । उनले घटनामा आफूहरुको कुनै सम्बन्ध नभएको पनि उल्लेख गरे । आफूहरु निर्दोष हुँदाहुँदै पनि आरोपित गरिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे । मन्त्री ज्वालाले आफूहरु नै पीडित पक्ष भएको भन्दै सुरक्षाकर्मीहरुको कमजोरीलाई आफूहरुतिर थोपरिएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर