आगामी ३ दिन देशभर मौसम बदली र वर्षा जारी रहने सम्भावना
काठमाडौं । आगामी ३ दिन देशभर मौसम बदली र वर्षा जारी रहने सम्भावना देखिएको छ । मौसम पूर्वानुमान महाशाखाले शुक्रबार बिहान कोशीका तराईसहित केही भूभाग, बागमती र कर्णालीका एक/दुई स्थानमा वर्षा भइरहेको जनाएको छ।
महाशाखाका अनुसार कोशीको तराईमा एक घण्टादेखि पानी परिरहेको छ भने कर्णालीको दैलेखतिर पनि वर्षा भइरहेको छ । बागमती प्रदेशको सिन्धुपाल्चोकतिर पनि पानी पर्न सुरु भएको छ।’
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। देशको तराई भूभागका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ। दिउँसो काठमाडौं उपत्यकामा पनि वर्षा हुने सम्भावना छ।
यस्तै राति देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। अनि कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। देशको तराई भूभागका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ. जसमा भनिएको छ– देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। देशको तराई भूभागका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ। त्यसैले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवनसमेत प्रभावित हुन सक्ने देखिन्छ। तसर्थ भारी वर्षा, मेघगर्जन/चट्याङ, गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका कारण हुनसक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
