तीन श्रेणीमा वर्गीकृत ट्याक्सी सेवा सञ्चालनमा आउने

काठमाडौं । नेपाली सडकमा अबबाट तीन प्रकारका ट्याक्सी सञ्चालनमा आउने भएका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक ट्याक्सी व्यवस्थापनलाई व्यवस्थित र स्तरीकृत बनाउन ‘राष्ट्रिय मापदण्ड, २०८१’ जारी गर्दै ट्याक्सीलाई साधारण (अर्डिनरी), विशेष (डिलक्स) र विशिष्ट (लक्जरी) गरी तीन श्रेणीमा वर्गीकरण गरेको हो।
यातायात व्यवस्था विभागका अनुसार, सवारीको आकार, इन्जिन वा मोटर क्षमतादेखि लिएर यात्रु सुरक्षासम्बन्धी विशेषता र सेवा सुविधालाई आधार मानेर वर्गीकरण गरिएको हो। नयाँ मापदण्ड वैशाख ३० गतेदेखि लागू भइसकेको छ भने यसअघिको मिटर जडित ट्याक्सीसम्बन्धी मापदण्ड, २०७६ खारेज गरिएको छ।
भाडा दर पनि ट्याक्सीको वर्ग अनुसार कायम हुनेछ । साधारण वर्गको ट्याक्सीको अधिकतम भाडा दर सरकारले तोक्ने छ। विशेष वर्गको ट्याक्सीको अधिकतम भाडा दर साधारण वर्गको ट्याक्सीको भन्दा २० प्रतिशत र विशिष्ट वर्गको ट्याक्सीको भाडा दर साधारण वर्गको भन्दा सय प्रतिशत बढी हुने मापदण्डमा लेखिएको छ ।
साधारण ट्याक्सीको न्यूनतम मापदण्ड
मापदण्डअनुसार साधारण ट्याक्सीतर्फ आन्तरिक दहन इन्जिन जडित सवारी (कम्व्युसन इन्जिन पावर्ड भेहिकल) र विद्युतीय सवारी (हाइड्रोजन फ्युल) सेलमा आधारित सवारी समेत गरी प्राविधिक विशेषता तथा सुविधा अनिवार्य रुपमा हुनुपर्ने व्यवस्था गरिएको छ ।
जसअनुसार साधारण ट्याक्सीतर्फ आन्तरिक दहन इन्जिन जडित सवारी (१ हजार सीसी वा त्यो भन्दामाथि) को हकमा इन्जिन डिस्प्लेसमेन्टको भोल्युम १.५ प्रतिशतसम्म कम समावेश भएको हुनुपर्ने मापदण्ड तोकिएको छ । यस्तै अधिकतम इन्जिन वा मोटर शक्ति १.५ प्रतिशतसम्म कम समेत समावेश भएको हुनुपर्ने तोकिएको छ । त्यस्तै अधिकतम इन्जिन वा मोटरको टर्कतर्फ ६५ न्यूटन मिटर वा त्यसभन्दा माथि तोकिएको छ ।
यस्तै व्हील वेस २३०० मिलिमिटर वा त्यसभन्दा बढी र बुट स्पेश (मालसामान राख्ने क्षमता) र सबै सीट सिधा अवस्थामा राख्दा १६० लिटर वा त्यसभन्दा बढी हुनुपर्ने मापदण्ड तोकिएको छ । यसैगरी साधारण ट्याक्सीतर्फ विद्युतीय सवारीको हकमा व्याट्रीमा सञ्चित हुने उर्जा (किलोवाट आवर) र सवारीको कुल भारत (जीभीडब्ल्यू, किलो) बीचको अनुपात ०.०१५ हुनुपर्ने मापदण्ड बनाइएको छ । यस्तै अधिकतम इन्जिन वा मोटर शक्ति ४० किलोवाट वा त्यो भन्दा बढी तोकिएको छ । इन्जिन वा मोटर टर्क, व्हील वेस, बुट स्पेश दहन इन्जिनमा जडित सवारीजस्तै तोकिएको छ ।
डिलक्स ट्याक्सीको मापदण्ड
डिलक्स ट्याक्सीतर्फ दहन इन्जिन जडित सवारी (१२०० सीसी वा त्योभन्दा बढी) को हकमा इन्जिन डिस्प्लेसमेन्टको भोल्युम १.५ प्रतिशतसम्म कम समेत समावेश भएको, अधिकतम इन्जिन वा मोटर शक्ति १.५ प्रतिशतसम्म कम समावेश भएको, अधिकतम इन्जिन वा मोटर टर्क ८० न्यूटन मिटर वा त्यसभन्दा बढी, व्हील बेस २५०० मिलिमिटर वा त्योभन्दा बढी र बुट स्पेस २०० लिटर वा त्यसमध्ये बढी हुुनुपर्ने मापदण्ड तोकिएको छ ।
डिलक्स ट्याक्सीतर्फ नै विद्युतीय सवारीको हकमा व्याट्रीमा सञ्चित हुने उर्जा (किलोवाट आवर) र सवारीको कूल भार (जीभीडब्ल्यू, किलोग्राम) बीचको न्यूनतम अनुपात ०.०१९ हुनुपर्ने मापदण्ड तोकिएको छ । त्यस्तै अधिकतम इन्जिन वा मोटर शक्ति ५० किलोवाट वा त्योभन्दा बढी तोकिएको छ ।
अधिकतम इन्जिन वा मोटर टर्क, व्हील बेस र बुट स्पेशको हकमा दहन इन्जिन जडितजस्तै मापदण्ड तोकिएको छ । तर डिलक्स ट्याक्सीको हकमा छुट्टै विशेष प्रकारको मापदण्डअन्तर्गत अनिवार्य रुपमा टच स्क्रीनसहितको डिस्प्ले स्क्रीन कम्तीमा एक, विद्युतीय स्वीचबाट खुल्ने र बन्द हुने झ्याल (अगाडि र पछाडि), जाडो गर्मी सबै मौसमको लागि उपयुक्त हुने वातानुकूलन प्रणालीलाई मापदण्डको रुपमा तोकिएको छ । सवारी निर्माता कम्पनीवाहेक अन्य पक्षले जडान गरेको डिस्प्ले समेत मान्य हुने व्यवस्था गरिएको छ ।
लक्जरी ट्याक्सीको मापदण्ड
विशिष्ट (लक्जरी) ट्याक्सीतर्फ दहन इन्जिन जडित सवारी (२ हजार सीसी वा त्योभन्दा बढी) को हकमा इन्जिन डिस्प्लेसमेन्टको भोल्युम १५ प्रतिशतसम्म कम समेत समावेश भएको हुनुपर्ने मापदण्ड तोकिएको छ । यस्तै अधिकतम इन्जिन वा मोटर शक्ति १.५ प्रतिशतसम्म कम समेत समावेश भएको, अधिकतम इन्जिन वा मोटर टर्क १७० न्यूटन मिटर वा त्यसभन्दा बढी, ब्हील बेस २७०० मिलिमिटर वा त्यसभन्दा बढी र बुट स्पेश ४०० लिटर वा त्यसभन्दा बढी हुनुपर्ने मापदण्ड तोकिएको छ ।
यसैगरी बिद्युतीय सवारीतर्फ ब्याट्रीमा सञ्चित हुने उर्जा (किलोवाट आवर) र सवारीको कूल भार (जीभीडब्ल्यू, किलोग्राम) बीचको न्यूनतम अनुपात ०.०२५ हुनुपर्ने उल्लेख छ । अधिकतम इन्जिन वा मोटर टर्क, ब्हील बेस, बुट स्पेशको हकमा दहन इन्जिन जडित सवारीको हकमा तोकिएको मापदण्ड नै विद्युतीय सवारीतर्फ तोकिएको छ ।
तर लक्जरी ट्याक्सीतर्फ भने छुट्टै सुविधाहरु अनिवार्य रुपमा तोकिएको छ । जसअनुसार विद्युतीय स्वीचबाट खुल्ने र बन्द हुने झ्याल (अगाडि र पछाडि), जाडो गर्मी मौसमको लागि उपयुक्त हुने हावाको गुणस्तर नियन्त्रणसहितको स्वचालित वातानुकूलन नियन्त्रण क्षमताको वातानुकूलन प्रणाली, पछाडिको सीटको लागि समेत वातानुकुलित हावा प्रवाह हुने हावा पथ, पछाडिको सीटमा शिर अड्याउने हेडरेष्ट, पछाडिको यात्रुको लागि हात अड्याउने आर्म रेष्ट, अगाडि र पछाडि कप होल्डर र पछाडिको सीटका यात्रुको लागि समेत मोवाइल तथा अन्य विद्युतीय उपकरणहरु चार्ज गर्न डीसी वा एसी पावर आउटलेट सुविधा अनिवार्य मापदण्ड तोकिएको छ ।
त्यसैगरी वाईफाई इन्टरनेट सुविधा, अगाडिको शिर कक्ष (फ्रन्ट हेड रुम) र पछाडिको शिर कक्ष (रियर हेड रुम) कम्तीमा क्रमशः १००० मिलिमिटर र ९५० मिलिमिटर हुनुपर्ने (१ प्रतिशत कमसमेत समावेश हुनेगरी) र अगाडिको पाउ कक्ष (फ्रन्ट लेग रुम) र पछाडिको पाउ कक्ष (रियर लेग रुम) कम्तीमा क्रमशः १००० मिलिमिटर र ९०० मिलिमिटर हुनुपर्ने (१ प्रतिशत कम समेत समावेश हुनेगरी) अनिवार्य मापदण्ड तोकिएको छ । सवारी साधन कम्पनीबाहेक अन्य पक्षले जडान गरेको डिस्प्ले तथा वाईफाई इन्टरनेट सुविधा समेत मान्य हुने व्यवस्था मापदण्डमार्फत गरिएको छ ।