अर्थतन्त्रलाई गतिशील बनाउने लचिलो मौद्रिक नीति

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुस्त अर्थतन्त्रलाई गतिशील बनाउने गरी लचिलो मौद्रिक नीति ल्याएको छ । गर्भनर डा. विश्वनाथ पौडेलले आज  आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक गर्दै कर्जा विस्तारको लक्ष्य राखेको बताए ।

केन्द्रीय बैंकले स्थायी तरलता दर अर्थात् बैंक दर ० दशमलव ५ प्रतिशत विन्दुले घटाई ६ प्रतिशतमा झारेको छ । त्यसैगरी नीतिगत दर ५ प्रतिशतबाट घटाई ४ दशमलव ५ प्रतिशत बनाइएको छ । साथै केन्द्रीय बैंकले स्थायी निक्षेप सङ्कलन दर ३ प्रतिशतबाट घटाई २ दशमलव ७५ प्रतिशत बनाएको छ । व्यक्तिगततर्फको शेयर धितो कर्जाको सीमा रु १५ करोडबाट बढाएर २५ करोड पुर्‍याइएको छ । मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा वृद्धि १२ प्रतिशत प्रक्षेपण गरेको छ ।

सरकारले आउँदो आर्थिक वर्षमा आर्थिक वृद्धिदर ६ प्रतिशत हुने प्रक्षेपण गरेको छ भने मूल्यवृद्धि ५ दशमलव ५ प्रतिशतभित्र राख्ने लक्ष्य राखेको छ । राष्ट्र बैंकले घरजग्गामा लचिलो नीति लिएको छ । गभर्नर  पौडेलले सजगतापूर्वक लचिलो नीति अवलम्बन गरिएको बताए । दोस्रो वित्तीय क्षेत्र रणनीतिक स्वीकृत गरी कार्यान्वयनमा ल्याउने मौद्रिक नीतिमा उल्लेख छ ।

ब्याजदर करिडोरको माथिल्लो सीमाका रुपमा रहेको बैंक दरलाई छ प्रतिशत र नीतिगत दरलाई साढे चार प्रतिशत कायम गरिएको छ । यसअघि बैंकदर साढे छ प्रतिशत र नीतिगत दर पाँच प्रतिशत थियो । मौद्रिक नीतिमार्फत निजी आवासीय घर निर्माण तथा खरिद गर्नका लागि प्रवाह गरिने कर्जाको सीमा रु दुई करोडबाट बढाएर रु तीन करोड कायम गरिएको छ । पहिलो घर निर्माण वा खरिद गर्दा कर्जा-मूल्य अनुपात ८० प्रतिशतसम्म र अन्यको हकमा बढीमा ७० प्रतिशतसम्म कायम गर्न सकिने व्यवस्था गरिएको छ ।

टुरिस्ट भिसामा विदेश जानेले ३ हजार डलरसम्म लैजान पाउने

राष्ट्र बैंकले विदेश यात्रा गर्ने नेपाली नागरिकका लागि वैदेशिक मुद्राको सीमा बढाएको छ । आज सार्वजनिक मौद्रिक नीतिमार्फत् राष्ट्र बैंकले यो सीमा २५ सय अमेरिकी डलरबाट बढाएर ३ हजार अमेरिकी डलर पुर्‍याएको छ । हालको प्रणालीअनुसार एक पटकको वैदेशिक यात्रा (टुरिष्ट भिसा)मा नेपाली नागरिकले अधिकतम २५ सय डलर मात्रै लैजान सक्थे ।

राष्ट्र बैंकले विदेशी मुद्राको व्यवस्थापनलाई सन्तुलनमा राख्ने, अवैध हुन्डी कारोबारमा कमी ल्याउने र वैध माध्यमबाट मुद्रा विनिमय प्रवर्द्धन गर्ने उद्देश्यले यो सीमा समायोजन गरेको हो ।

वैदेशिक व्यापारले गति लिन थाल्यो

गभर्नर पौडेलले पछिल्लो समयमा वैदेशिक व्यापारले गति लिन थालेको बताए। उनले आर्थिक वर्ष २०८१/८२ को एघार महिनामा कुल वस्तु निर्यात ७७.८ प्रतिशतले वृद्धि भई दुई खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ पुगेको जानकारी दिए। राष्ट्र बैंकका अनुसार कुल वस्तु आयात १३.१ प्रतिशतले वृद्धि भई १६ खर्ब ४४ अर्ब ८० करोड रुपैयाँ पुगेको छ।

यस अवधिमा व्यापार घाटा ६.३ प्रतिशतले वृद्धि भई १३ खर्ब ९७ अर्ब २३ करोड पुगेको छ। निर्यातको वृद्धिदर उच्च भए पनि आधार सानो भएको र आयात लयमा फर्कन थालेकाले आगामी वर्ष व्यापार घाटा केही फराकिलो हुने अनुमान छ। मौद्रिक नीतिमा दोस्रो वित्तीय क्षेत्र रणनीतिक स्वीकृत गरी कार्यान्वयनमा ल्याउने उल्लेख छ।

लघुवित्त वित्तीय संस्थाहरूले १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने

लघुवित्त वित्तीय संस्थाहरूले १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने भएका छन् । मौद्रिक नीति अनुसार लघुवित्त वित्तीय संस्थाले हालको व्यवस्थाअनुसार वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा वोनस) वितरण गर्नेसम्बन्धी विद्यमान व्यवस्थामा पुनरावलोकन गरिनेछ ।

वैदेशिक रोजगारीमा जाने युवाहरूलाई धितो लिई वा नलिई प्रवाह भएको ३ लाख रुपैयाँसम्मको कर्जालाई विपन्न वर्गको कर्जामा गणना गर्न सकिने व्यवस्था गरिने भएको छ । महिलाको हकमा यस्तो कर्जा बढीमा ५ लाख गरिने भएको छ ।

लघुवित्त वित्तीय संस्थाको कर्जा लक्षित वर्गसम्म पुग्ने सुनिश्चित गरी कर्जा सदुपयोग अभिवृद्धि गर्न लघुवित्तको लागि लक्षित वर्ग, ऋण प्राप्त गर्ने मापदण्ड र ऋणीको योग्यतासम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिनेछ । बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाह हुने विपन्न वर्ग र अन्य निर्देशित कर्जाहरूको सीमा व्यवस्थाको अध्ययन गरी पुनरावलोकन गरिनेछ ।

राष्ट्रिय परिचय पत्रमार्फत केवाईसी संकलन गर्ने राष्ट्र बैंकको घोषणा

राष्ट्र बैंकले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमा राष्ट्रिय परिचयपत्र प्रणालीको प्रयोगलाई बैंकिङ क्षेत्रसँग अझ प्रभावकारी रूपमा एकीकृत गर्ने घोषणा गरिएको छ ।

नीतिअनुसार बैंक तथा वित्तीय संस्थाहरूले ग्राहक पहिचान (केवाईसी) विवरण राष्ट्रिय परिचयपत्रमार्फत प्राप्त गर्न सक्नेछन् । ग्राहकले एक पटक कुनै एक बैंकमा आफ्नो विवरण अद्यावधिक गरेपछि अन्य बैंक तथा सम्बन्धित निकायले पनि सो विवरण विद्युतीय प्रणालीमार्फत प्राप्त गर्न सक्ने पूर्वाधार निर्माण गरिनेछ ।

राष्ट्र बैंकले आधुनिक प्रविधिको प्रयोगमार्फत वित्तीय प्रणालीलाई नयाँ चरणमा प्रवेश गराउने योजनाअन्तर्गत डिजिटल प्रणाली, सबल भुक्तानी संरचना, र नवप्रवर्तनको प्रवर्द्धनमा समेत जोड दिएको छ । साथै, भुक्तानी प्रणालीलाई बलियो र सुरक्षित बनाउँदै ‘रेगुलेटरी स्यान्डबक्स’ जस्ता नवीन अभ्यास सञ्चालन गर्ने उल्लेख गरिएको छ ।

बंगलादेश र श्रीलंकाको मुद्रा नेपालमा काराबोर गर्ने तयारी

राष्ट्र बैंकले बंगलादेश र श्रीलंकाको मुद्रालाई परिवर्त्य विदेशी मुद्राको सूचीमा राख्ने भएको छ । शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिले यस्तो व्यवस्था गर्न लागेको हो ।

बंगलादेश र श्रीलंकालगायत विदेशी मुद्राको कारोबार बढ्दै गएको मुलुकहरूका मुद्रालाई परिवर्त्य विदेशी मुद्राको सूचीमा थप गर्दै लगानी मौद्रिक नीतिमा उल्लेख छ । योसँगै नेपालमा बंगलादेश र श्रीलंकाको मुद्राको काराबोर गर्ने बाटो खुला भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर