९० बर्ष पुगेका दलाई लामाको अझ ४० बर्ष बाँच्ने चाहना

काठमाडौं  । तिब्बती बौद्ध धर्मगुरु दलाई लामा आजबाट ९० वर्षमा प्रवेश गरेका छन्। तिब्बती समुदायले जुलाई ६ मा जन्मिएका लामाको जन्मोत्सव मनाइरहेका छन्।  आफ्नो ९० औं जन्मदिनको पूर्वसन्ध्यामा आफ्ना अनुयायीहरूले आफ्नो दीर्घायुको लागि प्रार्थना गर्न आइतबार आयोजना गरेको समारोहमा उनले अझै ४० वर्ष बाँच्ने आशा व्यक्त गरेका छन्।

हजारौंको प्रार्थनाको नेतृत्व गर्दै जब मन्त्र, ढोल र तुरहीको आवाज गुन्जिरहेको थियो, उनले भने,‘अहिलेसम्म, मैले मेरो सक्दो प्रयास गरेको छु र अवलोकितेश्वर (बौद्ध आध्यात्मिक रक्षक) को निरन्तर आशीर्वादले, म अझै ३० वा ४० वर्ष बाँच्ने आशा गर्दछु, चेतनशील प्राणीहरू र बुद्ध धर्मको सेवा गरिरहनेछु।’

म केवल एक साधारण बौद्ध भिक्षु हुँ; म सामान्यतया जन्मदिन मनाउने कार्यक्रमहरूमा भाग लिँदिन। यद्यपि, तपाईंले मेरो जन्मदिनमा केन्द्रित कार्यक्रमहरू आयोजना गरिरहनुभएको हुनाले म केही विचारहरू साझा गर्न चाहन्छु।’, उनले भने, ‘मेरो हकमा, म मानवीय मूल्यमान्यता, धार्मिक सद्भाव प्रवर्द्धन गर्ने, मन र भावनाहरूको कार्यलाई व्याख्या गर्ने प्राचीन भारतीय ज्ञान, र तिब्बती संस्कृति र सम्पदामा ध्यान आकर्षित गर्ने मेरो प्रतिबद्धताहरूमा ध्यान केन्द्रित गर्न जारी राख्नेछु, जसमा मनको शान्ति र करुणामा जोड दिएर विश्वमा योगदान पुर्‍याउने धेरै सम्भावना छ।’

नेपालमा बसोबास गर्दै आएका तिब्बती समुदायले  आज आफ्ना धार्मिक नेता दलाई लामाको ९० औं जन्मदिन मनाउँदैछन्। जन्मोत्सव कार्यक्रमको संयोजन लाजिम्पाटस्थित तिब्बती शरणार्थी कार्यालय (टिबेटिएन रेफ्युजी वेलफेयर अफिस)ले गरेको हो। नेपालले एक चीन नीति अख्तियार गर्दै आएको छ। विश्वभर छरिएका तिब्बतीले जुलाई ६ मा दलाईको जन्मदिन मनाउने गरेका छन्।

भारतको धर्मशालामा शरण लिएर बसेका दलाई लामाले जन्मदिनको पूर्वसंन्ध्यामा भिडियो सन्देश जारी गरेका थिए। उनले आफ्नो मृत्युपश्चात् पनि तिब्बतमा धर्मगुरु चुनिने परम्परा जारी रहने दाबी गरेका छन्।

दलाई लामाले आफ्नो उत्तराधिकारी छनौट गर्ने एक मात्र अधिकार आफ्नो परोपकारी संस्था हुने घोषणा गरेका छन्। ‘गादेन फोड्राङ ट्रस्टले मात्र दलाई लामाको पुनर्जन्मलाई मान्यता दिने अधिकार राख्छ र यसमा हस्तक्षेप गर्ने अरू कुनै अधिकार छैन,’ उनले भनेका छन्। यसको अर्थ तिब्बतको आध्यात्मिक परम्परा र नेतृत्व संरचनाको स्थिरता सुनिश्चित गर्ने जिम्मेवारी गादेन फोड्राङ ट्रस्टका सदस्यहरूमा हुनेछ, जसले भविष्यमा दलाई लामाको उत्तराधिकारी चयन गर्ने प्रक्रिया प्रारम्भ गर्नेछन्। चीन सरकारले दलाई लामाको पुनर्जन्म र उत्तराधिकारीको चयनको विषयमा आपत्ती जनाएको छ।

को हुन् दलाई लामा ?

१४ औं दलाई लामाको जन्म १९३५ मा ल्हामो धोन्डुपको रूपमा तिब्बतको एक किसान परिवारमा भएको थियो। दुई वर्षको उमेरमा उनलाई तिब्बती बौद्ध धर्मका सर्वोच्च नेता १३औं दलाई लामाको पुनर्जन्मको रूपमा चिन्हित गरिएको थियो।

दलाई लामाले तिब्बती बौद्ध धर्मको शिक्षामा गहिरो अध्ययन गरेका छन्। सन् १९५९ मा चीनले तिब्बतमाथि कब्जा जमाएपछि उनी भारतमा निर्वासित भएका थिए। ‘तिब्बती पहिचानको रक्षा गर्न अहिंसात्मक संघर्ष’ गरेको भन्दै उनलाई सन् १९८९ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो। तिब्बती बौद्ध धर्मका अनुयायीहरू उनलाई अवलोकितेश्वर (चेन्रेजिग)को अवतारको रूपमा मान्छन्। दलाई लामाको भूमिका केवल आध्यात्मिक नेताका रूपमा नभएर तिब्बती जनताको राजनीतिक र सांस्कृतिक अस्तित्वको प्रतीकको रूपमा पनि रहँदै आएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर