के अमेरिकाले दक्षिण एसियालाई ट्याक्टिकल न्युक्लियर विपेन्सबाट बचाएकै हो ?

काठमाडौं । अमेरिकाले शुक्रबार बिहान चिन्ताजनक गुप्तचर जानकारी प्राप्त गरेको आधारमा उपराष्ट्रपति जेडी भान्स, विदेशमन्त्री एवं अन्तरिम राष्ट्रिय सुरक्षा सल्लाहकार मार्को रुबियो, ह्वाइट हाउस चिफ अफ स्टाफ सुसी वाइल्सलगायत अधिकारीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्पर्क गर्ने निर्णय गरेको त्यही आधारमा मोदीसँग कुराकानी गरेका थिए ।
खतनाक गुप्तचर खबरबारे भारत र अमेरिकाले केही बताउन नचाहे पनि पाकिस्तानी अधिकारीहरूले स्थान विशेष वा लक्ष्यगत (ट्याक्टिकल न्युक्लियर विपेन्स) प्रहार गर्न परीक्षण गरेको विश्वास गरिएको छ । किनभने पाकिस्तानको राजधानी इस्लामावादभन्दा करिब ५० किलोमिटर वरिपरि ४.५ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको थियो । जुन भूकम्पको धक्का प्राकृतिक नभई कृत्रिम भएकोमा अमेरिकी अधिकारीहरू विश्वस्त थिए ।
पछि अमेरिकालगायत अन्य पश्चिमा मुलुकको सहयोगमा न्युक्लियर परीक्षणको विकिरण कहीँ कतै फैलिएको छ कि भनेर अनुसन्धान गरेको पनि बताइन्छ । त्यसपछि त्रसित अमेरिकी अधिकारीहरूले भारतसँग सिधै सम्पर्क गरेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका अधिकारीहरूले यसबारेमा सीएनएनलाई जानकारी गराएका छन् ।
ती अधिकारीहरूले संवेदनशीलताका कारण ‘खतरनाक जानकारी’ को प्रकृति बताउन अस्वीकार गरे । तर त्यस्तो जानकारीले भारत–पाकिस्तान तनाव मामिलामा अमेरिका थप संलग्न हुनुपर्छ भन्ने विश्वस्त पार्न महत्त्वपूर्ण भूमिका खेलेको उनीहरूले बताए । त्यसपछि भान्स आफैँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गर्ने निर्णय गरे । त्यति बेलासम्म अमेरिकालाई लाग्थ्यो कि परमाणु–सक्षम दुई छिमेकी मुलुक भारत र पाकिस्तान आपसमा कुरा गरिरहेका थिएनन् । उनीहरूलाई वार्तामा ल्याउन आवश्यक थियो ।
भान्सले मोदीलाई एक सम्भावित समाधान पनि बताए, अमेरिकालाई लाग्थ्यो कि पाकिस्तानले त्यो स्वीकार गर्न सक्छ । तर यसबारेमा उनीहरूले विस्तृत विवरण दिएनन् । त्यो फोन कलपछि रुबियोसहित राज्य विभागका अधिकारीहरूले रातभर भारत र पाकिस्तानका उनीहरूका समकक्षीसँग संवाद गर्न थाले । रुबियोले आफ्ना समकक्षीलाई गरेका कलबारे जानकार एक अधिकारीले भने, “हप्ताको सुरुआतमै तनाव कम गर्न धेरै प्रयास भइरहेको थियो । र, त्यस बेलासम्म दुवै पक्ष आपसमा कुरा गरिरहेका थिएनन् ।”
उनले अगाडि भने, “यो हप्ताको सुरुमा लक्ष्य भारत र पाकिस्तानलाई हाम्रा समकक्षीसँग कुरा गर्न प्रोत्साहन गर्नु र युद्धविराममार्फत तनाव कम गर्ने बाटो खोज्नु थियो । यी कुराकानीका क्रममा अमेरिकी अधिकारीहरू दुवै पक्षका निम्ति सम्भावित समाधान कस्ता देखिन सक्छन् भन्ने बुझ्न सफल भए । र, त्यो सन्देश साट्न र कम्युनिकेसन दूरी केही मेट्न मद्दत गर्न सके । यसबाट दुवै पक्षले वास्तवमा कुरा गर्न सके र अहिलेको अवस्थामा पुग्न सके ।”
यदि अमेरिकाले गुप्तचर खबर समयमा नै नपाएको भए दुबै मुलुकले न्युक्लियर बम प्रहार गर्ने स्थिति पैदा भएको भए आज यो संसारको रूपरंग अर्कै हून्थ्यो होला एक अमेरिकी अधिकारी कल्पना गर्छन् । (स्रोतः विभिन्न समाचार एजेन्सीको सूचनाको आधार)