भारत–पाकिस्तानबीच सीमा क्षेत्रमा गोली हानाहान

काठमाडौं । पाकिस्तानसँगको भारतीय सीमाका बासिन्दाहरूले प्रतिद्वन्द्वी सेनाहरूबिचको द्वन्द्वको आतङ्कको कारण आफ्ना परिवारलाई सीमाबाट फिर्ता पठाएका छन् । चेनाब नदीको किनारमा बसोबास गर्ने सेन्थको कृषि बस्तीका करिब एक हजार ५०० बासिन्दालाई द्वन्द्वको डरले स्थानान्तरण गरेको जनाइएको छ । ‘हामी दीर्घकालीन योजना बनाउन सक्दैनौँ,’ गाउँ प्रमुख सुखदेव कुमारले भने । कठिन अवस्थाका कारण ‘यहाँका अधिकांश गाउँलेहरूले आधारभूत घर बनाउनेभन्दा बढी लगानी नगर्ने उनले उल्लेख गरे ।
भारतले पाकिस्तानलाई कश्मीरमा सर्वसाधारणमाथिको आक्रमणलाई समर्थन गरेको आरोप लगाएपछि दुई छिमेकीहरूबिचको सम्बन्ध बिग्रिएको छ । भारतीय प्रहरीले पहलगाममा अप्रिल २२ मा भएको आक्रमणमा संलग्न तीन जनाको खोजी जारी राखेको छ भने संयुक्त राष्ट्रसङ्घले उनीहरुलाई आतङ्कवादी घोषणा गरेको छ । यता पाकिस्तानले भने २६ जनाको हत्या गर्ने सहयोग गरेको आरोपलाई इस्लामाबादले अस्वीकार गरिरहेको छ । भारतीय सेनाले शनिबार आफ्ना सैनिकहरूले पाकिस्तानी सैनिकहरूसँग कश्मीरसँगको सीमामा गोली चलाएको बताएको छ ।
सन् १९४७ मा ब्रिटिस शासनबाट स्वतन्त्र भएदेखि नै कश्मीर भारत र पाकिस्तानको विवादित क्षेत्र बनेको छ । गाँउ प्रमुख कुमारले अधिकांश परिवारहरूले सुरक्षित आवासका लागि अर्को ठाउँमा घर बनाई सरेको र शिविरमा करिब एक तिहाइ मात्र मानिसहरूमा रहेको बताएका छन् । सन् १९९९ मा दुवै पक्षले आक्रमण गर्दा यो क्षेत्र नराम्ररी प्रभावित भएको जनाइएको छ । ‘पहलगाममा आक्रमण भएदेखि बालबालिका डरैडरमा बाँचिरहेका छन् भने वार्ताका माध्यमबाट आफ्ना मतभेद समाधान गर्न नयाँ दिल्ली र इस्लामाबादमाथि अन्तर्राष्ट्रिय दबाब बढेको छ ।
संयुक्त राज्य अमेरिकाले ‘तनाव कम गर्न’ आग्रह गरेको छ, छिमेकी चीनले ‘संयम’ रहन आग्रह गरेको छ, र युरोपेली सङ्घले शुक्रबार स्थिति ‘चिन्ताजनक’ भएको चेतावनी दिएको छ ।
पाकिस्तानबाट आउने सबै सामानमा भारतको प्रतिबन्ध
यसैबीच कश्मीरको पहलगाममा भएको चरमपन्थी आक्रमणपछि भारत र पाकिस्तानबीच बढ्दो तनावको बीचमा भारतले पाकिस्तानबाट आउने सबै सामानमा प्रतिबन्ध लगाएको छ। पाकिस्तानमै उत्पादन भई भारत आउने कुनै पनि वस्तुमा तत्काल लागु हुनेगरी रोक लगाइएको हो। भारतको वाणिज्य तथा उद्योग मन्त्रालय अन्तर्गतको विदेश व्यापार महानिर्देशालयले एक सूचना जारी गरेर शुक्रबार प्रतिबन्धको निर्णय सार्वजनिक गरेको छ ।
सूचना अनुसार विदेश व्यापार नीति २०२३ मा यससम्बन्धी एउटा व्यवस्था थपिएको छ, जसमा अर्को आदेश नभएसम्मका लागि पाकिस्तानबाट आउने वा पाकिस्तानमा निर्यात गरिने सबै वस्तुहरूको प्रत्यक्ष वा अप्रत्यक्ष आयातमा प्रतिबन्ध लगाइएको उल्लेख छ ।