नेपाल र भारतबीच आठ वटा विकास परियोजनामा समझदारी

काठमाडौं । नेपाल र भारतबीच विभिन्न आठ वटा विकासका परियोजना र समझदारी भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त घोषणा गरेका हुन् । प्रधानमन्त्री बालेनसँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले गर्ने घोषणा गरे ।

गत अगस्टमा नेपालमा आएको विनाशकारी भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मोदीले नेपालको पुनर्निर्माण र विकासमा नयाँ ऊर्जा थप्न सहयोग प्याकेज घोषणा गरिएको बताए।

‘नेपाल र भारतबीचको सम्बन्ध केवल छिमेकीको मात्र होइन, यो आत्मीयता र अटुट विश्वासको सम्बन्ध हो। हाम्रो खुसी र चुनौती दुवै साझा छन्,’ मोदीले भने, ‘हामी एकअर्काको प्रगतिका साझेदार हौँ र कठिन समयमा एकअर्काको सहारा हौँ।’

भारतले नेपाललाई पेट्रोलियम पदार्थ, रासायनिक मल तथा अन्य अत्यावश्यक वस्तुको आपूर्ति निरन्तर कायम राखेको उल्लेख गर्दै मोदीले नेपालको विकास र समृद्धिमा भारत साझेदारका रूपमा अघि बढ्ने बताए।

संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीद्वारा महाकाली नदीमाथि बनेको दार्चुला र धार्चुलालाई जोड्ने ११० मिटर लम्बाइको मोटरेबल पुलको उद्घाटन, कञ्चनपुरको सीमा क्षेत्र बनबासा नाकामा एकीकृत जाँच चौकीको शिलान्यास, मोतीहारी–अमलेखगञ्ज पाइपलाइनको दोस्रो चरणको परियोजना उद्घाटन, झापाको चारआलीमा बन्न लागेको ग्यास पाइपलाइनको शिलान्यास, ६६९ मेगावाटको तल्लो अरुण आयोजना निर्माणको शिलान्यास, जनकपुरधाम-अयोध्या रेल सेवाको उद्घाटन गरिएको थियो ।

नेपाल र भारतबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा दुई देशबीच फरेन्सिक विज्ञान, प्रहरी तालिम, प्रशासनिक अधिकारीको प्रशिक्षण, आयुर्वेद, स्याटेलाइट सञ्चार, सहरी विकास, स्वास्थ्य तथा पशुपालन र मत्स्यपालन क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको हो।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर