निर्वाचनलाई प्रविधि मैत्री बनाउनुपर्ने : प्रवक्ता खरेल

काठमाडौं ।  राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका शिर्ष नेताहरूले अगामी स्थानीय तह र प्रदेश तहको निर्वाचनलाई प्रविधि मैत्री बनाउनुपर्नेमा जोड दिएका छन् ।

शुक्रबार निर्वाचन आयोग आयोजित छलफल कार्यक्रममा बोल्ने क्रममा शीर्ष तहका नेताहरूले स्थानीय र प्रदेश तहको निर्वाचनसँगै अगामी दिनमा हुने सबै प्रकारका निर्वाचनलाई क्रमशः प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिएका हुन् । छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका प्रवक्ता जगदीश खरेलले निर्वाचन आयोगले आसन्न निर्वाचनको तयारीका सम्बन्धमा दलहरूलाई ब्रिफिङ गरेको जानकारी दिए ।

उनले स्थानीय तह र प्रदेश तहको निर्वाचन एकै समयमा गर्न सकिने सम्भावनाको सम्बन्धमा समेत छलफल भएको बताए । उनले निर्वाचनलाई निष्पक्ष, भयरहित र धाँधलीरहित बनाउन दलहरूले आयोगलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकोसमेत बताए । उनकाअनुसार छलफलमा निर्वाचनमा उम्मेदवारले गर्ने खर्च घटाउन आवश्यकताका आधारमा संविधान एवं कानूनमा सुधार गर्नुपर्नेमा आयोगले जोड दिएकोसमेत बताए ।

उनले भने, ‘निर्वाचनको कुनै पनि क्रियाकलाप हुँदा संविधानको भावना विपरित हुनुहुँदैन भन्ने कुरामा सबै दलहरू सहमत हुनुभएको छ । त्यसकारण संवैधानिक, आर्थिक, प्राविधिक र राजनीतिक पाटोबाट राष्ट्रिय र राजनीतिक सहमतिको  आधारमा निर्वाचन सम्पन्न हुनुपर्छ भन्नेकुरामा सबैको जोड छ । यो कुरामा दलहरूबीच सहमति हुनुको साथै आयोगलाई समेत, स्वतन्त्र निष्पक्ष र धाँधलीरहित निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने भन्ने कुरा भएको छ । निर्वाचन आयोगले प्रदेश र स्थानीय तहको निर्वाचन एउटै मितिमा गर्ने कि फरक फरक मितिमा गर्ने भन्ने बारेमा राजनीतिक सहमति गर्नुस् भन्ने कुरा गर्नुभएको छ । अब राजनीतिक दलका संयन्त्रहरूबीच छलफल गरेर मिति तय होला । अनि निर्वाचनमा बदर मत घटाउनको लागि प्रविधिमैत्री बनाउनुपर्नेमा समेत जोड छ ।’

उनले प्रवासमा रहेका नेपाली नागरिकलाई समेत अगामी स्थानीय तथा प्रदेश तहको निर्वाचनमा मताधिकार दिनुपर्ने कुरा राखेकोसमेत बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर