राष्ट्रपति पौडेलद्वारा महादेवटार सुरुङ मार्गको ब्रेक–थ्रु

काठमाडौं । नेपाल सरकारको गौरवको योजना अन्तर्गत रहेको बहुप्रतीक्षित काठमाडौँ–तराई–मधेश द्रूतमार्ग आयोजना रफ्तारमा निर्माण भइरहेको छ । बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले फास्ट ट्रयाकको सबैभन्दा लामो सुरुङ मार्गको रुपमा रहेको महादेवटार सुरुङ मार्ग ब्रेक थ्रु गर्नुभएको छ । यो ३ दशमलव ४५५ किमीको सुरुङ मार्ग हो ।

धेत्रे र लेन डाडा सुरुङ्गको थ्रु भइसकेको छ । दक्षिण कोरियाली राजदुत, चिनिया राजदुत, नेपाल सरकारका पूर्वाधार विकास मन्त्री, बागमती प्रदेश प्रमुखको साथमा राष्ट्रपति पौडेलले सुरुङ मार्गको ब्रेक थ्रु गर्नुभएको हो ।

सुरुङ मार्ग ब्रेक थ्रु गर्नुहुँदै राष्ट्रपति पौडेलले जटिल भौगोलिक अवस्थाका बाबजुद सेनाले गरेको मेहनतको प्रशंसा गर्नुभयो । सुरुङ्गमार्गले देशलाई नयाँ युगमा प्रवेश गराएको बताउनुभयो । यातायात प्रणालीमा गुणात्मक प्रगति हुने राष्ट्रपति पौडेलले बताउनुभयो । इन्धन, मर्मतको बचत, आर्थिक सामाजिक रुपान्तरणमा योगदान रहने बताउनुभयो ।

ब्रेक थ्रु कार्यक्रममा नेपाल सरकारका पूर्वाधार विकासमन्त्री सुनील लम्सालले सुरुङ्ग निर्माण चुनौतीपूर्ण काम भएको बताउनुभयो । केही ठेकदार कम्पनीको कारण आलोचना आएको स्मरण गर्दै मन्त्री लम्सालले भन्नुभयो परफर्मेन्स नदिने ठेकदारलाई तुरुन्तै रद्द गर्नेछौ। फास्ट ट्रयाकको नाइन ए र नाइन बीको ठेक्का रद्द गर्नुपर्ने र यसको लागि सरकार अघि बढ्ने मन्त्री लम्सालले बताउनुभयो ।

नेपालका लागि चिनियाँ राजदूताबासका काउन्सिलर झो पान ले उक्त ब्रेक थ्रु चाइना नेपालको सहकार्यको महत्त्वपूर्ण उपलब्धि भएको बताउनुभयो । चीन र नेपाल आपसको विकासमा अनवरत सहकर्मी रहेको उहाँले बताउनुभयो । यो आयोजना चाइनाको पनि उच्च प्राथमिकतामा रहेको आयोजना हो उहाँले भन्नुभयो आजको दिन चीनको पनि हर्षको पल हो ।

यसैगरी कोरियाली राजदुत जे क्यु पार्कले भौगोलिक चुनौतीका बावजुत पनि कार्य सफलता प्राप्त गरेकोमा बधाई ज्ञापन गर्नुभयो । नेपालको प्राविधिक दक्षताले नेपाललाई विकासको गतिमा फड्को मार्ने देखिएको र कोरिया नेपालको विकास लगातार सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

चाईना स्टेट कन्ट्रक्सनका प्रतिनिधि वाङ जीले नेपालको विकासमा सहभागी हुन पाएकोमा चाईना सरकारको पनि गौरवको विषय भएको बताउनुभयो । मुलुकको राष्ट्रिय गौरवको आयोजना तथा पूर्वाधार विकासको पहिलो प्राथमिकतामा सूचीकृत सो आयोजना निर्माणको निर्धारित समय आगामी चैतमा सकिँदैछ ।

ललितपुरको खोकना बाहेकको क्षेत्रको अधिकांश काम सकिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बताउनुभयो । खोकना क्षेत्रको जग्गा विवादको कारण यस क्षेत्रमा काम बाँकी भएको भएपनि अन्यत्र कामको लागि समस्या नभएको सेनाका प्रवक्ता सहायक रथी बस्नेतले बताउनुभयो ।

कात्तिक मसान्तसम्म आयोजनाको समष्टिगत भौतिक प्रगति ५०.५४ र वित्तीय प्रगति ५० प्रतिशत पुगेको छ । प्रतिशतको आधारमा हेर्दा आधा काम पनि नसकिएको देखिए पनि अब बाँकी कामको रफ्तार बढी हुने आयोजना प्रमुख नेपाली सेनाका सहायक रथी भरतलाल श्रेष्ठले बताउनुभयो । “बढी समय लाग्ने, अफ्ठ्यारा र चुनौतीपूर्ण कामहरू, जमिनमुनि गर्नुपर्ने कामहरू सकिएकोले अब कामको स्पीड नै धरै हुन्छ,” केसीले भन्नुभयो “सरकारले सहज सहजीकरण गर्‍यो भने हामी तोकिएको समयमा काम सक्ने छौं ।”

फास्ट ट्रयाक सुरुवाती समयदेखिको खोकना क्षेत्रको विवाद अझै सुल्झाउन सकिएको छैन । अब सो विवादको टुङ्गो लगाउँदै तेस्रो पटक म्याद थपको माग गर्ने पक्षमा नेपाली सेना रहेको छ । विभिन्न विवादको कारण समयमा कामले रफ्तार लिन नसक्दा अब दोस्रो पटक थप गरिएको २०८३ चैतसम्मलाई समयसिमा तोकिएको छ ।

हालसम्म के-के बन्यो ? 

कुल लम्बाइ ७० दशमलव ९७७ किलोमिटर भएको काठमाडौं–तराई–मधेश फास्ट ट्रयाकमा ७ वटा सुरुङहरू रहने छन् । बुधबार महादेवटार सुरुङको ब्रेक थ्रु गरिएसँगै ३ वटा सुरुङमार्गहरू ब्रेक थ्रु भएका छन् । यसअघि लेनडाँडा र धेद्रे निर्माण सम्पन्न भइ ब्रेक थ्रु भइसकेको छ ।

फास्ट ट्रयाकमा १ किमीको देवीचौर सुरुङमार्ग, शून्य दशमलव ३९ किमीको सिसौटार सुरुङ मार्ग, २ दशमलब २३७ किमीको चन्द्राम भिर सुरुङ मार्ग, ३ दशमलव ४५५ किमीको महदेवटार सुरुङ मार्ग, १ दशमलव ६९१ किमीको धेद्रे सुरुङ मार्ग, १ दशमलव ६३२ किमीको लेनडाँडा सुरुङ मार्ग र शून्य दशमलव ५८३ किमीको मौरीभीर सुरुङ मार्ग छन् ।

हालसम्म काम सुरु नै नगरिएको देवीचौर र मौरी भिर सुरुङ मार्गको काम नयाँ सम्झौतापछि हुनेछ । देवीचौर सुरुङ मार्ग खोकना विवादको कारण समस्यामा छ भने मौरीभीर सुरुङ मार्ग निर्माण स्थालको भौगोलिक संरचना धेरै संवेदनशील भएको कारण सेनाले अन्य काम सकेर गर्ने योजना बनाएको छ ।

सेनाले पहिरोको सम्भावना भएको भूगोलमा रिट्रेनिङ वाल बनाउँदै काम गरेको छ । एसियन हाइवे मापदण्ड अनुसार बन्ने फास्ट ट्रयाकमा ८९ वटा पुलहरू बन्ने छन् । जसको दुइतर्फको कुल लम्बाइ २५ दशमलव ७७ किमी हुन्छ । पुलको चौडाइ एकातर्फमात्रै ११ दशमलव ८ किमी छ ।

८९ स्थानका पुलमध्ये ५६ स्थानका पुलहरूको फाउन्डेसन, ३८ स्थानका पुलको सब स्ट्रक्चर र १६ स्थानका पुलको सुपर स्ट्रक्चरको कार्य सम्पन्न भइसकेको छ ।

आयोजना अन्तर्गत रहेका जम्मा ८९ स्थानका पुलमध्ये ८५ स्थानका पुलको ठेक्का व्यवस्थापन भई कार्यान्वयनमा रहेको तथा बाँकी चार स्थानका पुलमा जग्गा अधिग्रहणसम्बन्धी समस्या रहेको छ । ती खोकना खण्डमा अवस्थित छन् ।

फास्ट ट्रयाकमा खोकना, बुदुने र निजगढमा गरी ३ वटा इन्टर चेन्जहरु रहेको महादेवटार आयोजना प्रमुख प्राविधिक प्रमुख सेनानी बलराम रावतले बताउनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर