स्पेनमा घरजग्गाको मूल्यवृद्धिको विरोधमा १४ वर्षपछि आमहडताल
काठमाडौं । घरभाडा र घरजग्गाको मूल्य अत्यधिक बढेको विरोधमा स्पेनमा १४ वर्षपछि पहिलोपटक देशव्यापी आमहडताल भएको छ। बुधबार भएको हडतालका कारण सार्वजनिक यातायात, औद्योगिक क्षेत्र तथा विभिन्न व्यवसाय प्रभावित भए। हजारौँ श्रमिक र सर्वसाधारण सडकमा उत्रिएर सरकारसँग आवाससम्बन्धी समस्या समाधान गर्न माग गरेका छन्।
‘तलब, आवास र मूल्य’ भन्ने नारासहित भएको आन्दोलनको मुख्य माग घरभाडा नियन्त्रण, घरजग्गाको सट्टेबाजी रोकथाम र भाडामा बस्ने नागरिकको अधिकार संरक्षण रहेको छ। स्पेनमा आवास समस्यालाई मुख्य मुद्दा बनाएर गरिएको यो पहिलो आमहडताल हो।
आन्दोलनको केन्द्र बार्सिलोना र राजधानी मड्रिड बने। आवास अधिकारका लागि अभियान चलाउँदै आएका समूहले बार्सिलोनामा चार लाख मानिस सहभागी भएको दाबी गरेका छन्। तर‚ नगर प्रशासनका अनुसार प्रदर्शनमा ५५ हजार मानिस सहभागी थिए। उनीहरूले ‘बाँचौं, गुजारा मात्र नगरौं’ भन्ने लेखिएको विशाल ब्यानरसहित प्रदर्शन गरेका थिए।
स्पेन सरकारका अधिकारीका अनुसार भारी वर्षाका बाबजुद मड्रिडमा एक लाख २० हजार मानिस सडकमा उत्रिएका थिए। बार्सिलोनामा शान्तिपूर्ण प्रदर्शनपछि केही प्रदर्शनकारीले मुख्य व्यापारिक सडक पासेइग डे ग्रासियामा रहेका ब्रान्डेड पसलमा तोडफोड गरेका थिए। उनीहरूले पसलअगाडि आगो बाल्नुका साथै एप्पल स्टोरको प्रवेशद्वारमा क्षति पुर्याए। फोहोर फाल्ने डस्टबिन जलाउनुका साथै प्रहरीमाथि पटाका प्रहार गरेपछि दंगा नियन्त्रण पोसाकमा प्रहरी परिचालन गरिएको थियो।
हडतालका कारण बार्सिलोनाको मेट्रो र सार्वजनिक बस सेवा व्यस्त समयबाहेक प्रभावित भएको थियो। सडकमा सवारीसाधनको चाप पनि कम थियो। यद्यपि, कफी पसललगायत साना व्यवसायमध्ये धेरै खुलेका थिए।
औद्योगिक क्षेत्रमा व्यापक असर
स्पेनका दुई ठूला श्रमिक संगठन सीसीओओ र यूजीटीले आमहडताल सफल भएको दाबी गरेका छन्। उनीहरूका अनुसार सवारीसाधन उत्पादन र बन्दरगाह क्षेत्रमा ९० प्रतिशत, मासु उद्योगमा ८५ प्रतिशत, फोहोर संकलनमा ८२ प्रतिशत र ऊर्जा क्षेत्रमा ७५ प्रतिशत काम प्रभावित भएको थियो। धेरै विद्यालय र विश्वविद्यालयसमेत बन्द भएका थिए।
सीसीओओका महासचिव उनाइ सोर्दोले हडताल श्रमिक संगठनको अपेक्षाभन्दा सफल भएको बताए। स्पेनमा २ करोड २० लाख दर्ता भएका श्रमिक रहेको उल्लेख गर्दै उनले विभिन्न रणनीतिक क्षेत्रमा काम ठप्प भएको जनाए।
