रुस, युक्रेन र अमेरिकाबीच आज र भोलि वार्ता
काठमाडौं । रुस, युक्रेन र अमेरिकाबीच मंगलबार र बुधबार अबुधाबीमा नयाँ चरणको त्रिपक्षीय वार्ता हुँदै छ । यसवर्ष जनवरी र फेब्रुअरीमा अमेरिकी मध्यस्थतामा भएका वार्ताबाट ठोस निष्कर्ष ननिस्किएपछि पुनः वार्ता हुन लागेको हो । अमेरिकी विशेष दूत स्टिभ विटकफका अनुसार वार्तामा युद्धपछिको सुरक्षा व्यवस्था, तनाव न्यूनीकरण, मानवीय सहयोग र शान्तिका लागि आगामी कदमबारे छलफल हुनेछ ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सुरक्षा ग्यारेन्टी, ऊर्जा क्षेत्रमा युद्धविराम, बन्दी आदानप्रदान, तीनै देशका शीर्ष नेताबीच बैठकको तयारीलाई प्रमुख एजेन्डा बनाएका छन् । युक्रेनी प्रतिनिधिमण्डलका सदस्य तथा सांसद दाभिड अराखामियाले तत्काल ठूलो प्रगतिको अपेक्षा नरहेको बताएका छन् । लामो अन्तरालपछि त्रिपक्षीय वार्ता पुनः सुरु हुनु नै सकारात्मक उपलब्धि भएको उनको भनाइ छ ।
वार्तामा को–को सहभागी हुँदैछन् ?
अमेरिकाबाट विशेष दूत विटकफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुस्नर सहभागी हुनेछन् । रुसले राष्ट्रपति भ्लादिमिर पुटिनका सल्लाहकार भ्लादिमिर मेडिन्स्कीको नेतृत्वमा उच्चस्तरीय सैन्य तथा गुप्तचर अधिकारीहरूको टोली पठाएको छ ।
युक्रेनी प्रतिनिधिमण्डलको नेतृत्व वैदेशिक गुप्तचर सेवाका प्रमुख रुस्तेम उमेरोभले गर्नेछन् । टोलीमा सांसद अराखामियासहित कूटनीतिक र सैन्य अधिकारीहरू पनि रहनेछन् ।
ईयू पनि सहभागी हुने
यसैबीच, अबुधाबीमा हुने रुस–युक्रेन वार्ताअघि युक्रेनका राष्ट्रपति जेलेन्स्कीले सोमबार युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन देर लेयनसँग साझा रणनीतिबारे छलफल गरेका छन् । जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समार्फत त्रिपक्षीय वार्ताबाट ठोस नतिजा आउने आशा व्यक्त गरेका छन् । भोन देर लेयनले पनि ईयू आफ्ना सहयोगीसँगै वार्तामा उपस्थित रहने पुष्टि गरेकी छन् ।
युरोपेली प्रतिनिधिहरूसँग छुट्टै ढाँचामा बैठक गर्ने तयारी रहेको बताइएको छ । यसमा जर्मन चान्सलर फ्रेडरिक मर्जका विदेश तथा सुरक्षा नीति सल्लाहकार गुन्टर साउटर, फ्रान्सका कूटनीतिक सल्लाहकार इमानुएल बोन्ने, बेलायतका राष्ट्रिय सुरक्षा सल्लाहकार जोनाथन पावेल र इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीका कूटनीतिक सल्लाहकार फाब्रिजियो साग्जियो सहभागी हुनेछन् ।
त्यस्तै, युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन देर लेयनका प्रमुख स्वकीय सचिव ब्योर्न साइबर्ट र नेटो महासचिव मार्क रुट्टेका प्रमुख स्वकीय सचिव जियोफ्री भान लिउवेन पनि उपस्थित हुनेछन् ।
तर, सम्भावित शान्ति सम्झौतासम्बन्धी वार्तामा युरोपेली प्रतिनिधिहरू औपचारिक रूपमा सहभागी हुने वा नहुने अझै स्पष्ट छैन । तर, वार्तामा उनीहरूको भूमिका स्पष्ट भइसकेको छैन ।
रुसले भने वार्ता युक्रेन, रुस र अमेरिकाबीच मात्र हुने जनाएको छ । विदेश नीति अनुसन्धान संस्था ‘युक्रेनी प्रिजम’ सुरक्षा अध्ययन निर्देशक हान्ना शेलेस्टले उनीहरूले बढीमा पर्यवेक्षकको भूमिका मात्र पाउने आकलन गरेकी छन् । रुसी प्रतिनिधिमण्डलले युरोपेली प्रतिनिधिहरूलाई वार्तामा बोल्न नदिने सम्भावना रहेको उनको भनाइ छ ।
यसअघि बर्लिन भ्रमणका क्रममा जर्मन चान्सलर फ्रेडरिक मर्जले युक्रेनलाई ७० अर्ब युरो सहयोग दिने ईयूको प्रतिबद्धता दोहोर्याउँदै युद्ध अन्त्यका लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई गम्भीर हुन आग्रह गरेका थिए ।
