आज टीका लगाउने उत्तम साइत १०:२६ बजे
काठमाडौं । आज नेपालीहरुको महान पर्व विजयादशमीको टीका ग्रहण गरी मनाइँदैछ । आजको दिन मान्यजनहरुबाट टीका, जमरा र शुभआशीर्वाद ग्रहण गर्ने उत्तम समय १० बजेर २६ मिनेटमा रहेको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार टीका लगाउने साइत बिहान १०ः२६ बजे छ । समितिका अनुसार देवी विसर्जनको साइत बिहान ८ बजेर ४९ मिनेटमा छ। समितिका अध्यक्ष डा. पुरुषोत्तम भट्टराईका अनुसार विजयादशमीका दिन दिनभर टीका लगाउन साइत छ ।
टीका लगाउँदा कता फर्कने ?
समितिका अनुसार टीका लगाइदिने मान्यजन पूर्व र टीका थाप्ने व्यक्ति पश्चिम दिशा फर्केर बस्नु पर्नेछ । दसैंमा नवदुर्गा भवानीको पूजा–आराधना गरी देवीको प्रसादका रूपमा टीका र जमरा ग्रहण गरिन्छ ।
यसदिन परिवारका सदस्य तथा आफन्तजन एकै ठाउँमा बसेर मान्यजनबाट आशीर्वाद लिने चलन छ । नेपाली समाजमा कोजाग्रत पूर्णिमासम्म टीका लाउने र आशीर्वाद लिने प्रचलन छ ।
