ललितपुरको खोकनामा दसैँको सट्टा ‘सिकाली जात्रा’

काठमाडौं ।  ललितपुरको ऐतिहासिक नेवार बस्ती खोकनामा दसैँको सट्टा मौलिक ‘सिकाली जात्रा’ धुमधामसाथ मनाइएको छ । ललितपुर महानगरपालिका–२१ मा पर्ने खोकनावासीले घटस्थापनादेखि नवमीसम्म चल्ने यस ऐतिहासिक जात्रालाई आफ्नो मुख्य चाडका रूपमा मनाउने गर्दछन् । बाँकी देशले जमरा राखेर विजयादशमीको टीका थाप्दा यहाँका बासिन्दा भने टीका र जमराबिना नै आफ्नै परम्परागत पहिचान र सामूहिक भोजमा रमाउने गर्छन् ।

काठमाडौँ उपत्यकालगायत देशभरका नेपाली बडादसैँको उमङ्गमा डुबिरहेका बेला ललितपुरको मध्यकालीन ऐतिहासिक नेवार बस्ती खोकनाको दृश्य भने निकै भिन्न देखिन्छ । बाँकी नेपालभन्दा फरक बाटो हिँड्ने यो बस्तीमा न घटस्थापनाका दिन जमरा राखिन्छ न त विजयादशमीका दिन निधारमा रातो टीका नै सजिन्छ । देशैभरि दशैँको चर्चा चुलिँदा यहाँका बासिन्दा भने आफ्नै मौलिक संस्कृति, धार्मिक अनुष्ठान र तान्त्रिक नृत्यले भरिपूर्ण ‘सिकाली जात्रा’ मनाउन व्यस्त छन् । यही जात्राको व्यवस्थापन र पूजापाठमै पूर्ण रूपमा व्यस्त हुने भएकाले खोकनावासीले पुस्तौँदेखि दसैँ मनाउन नभ्याएको र यसैलाई आफ्नो मुख्य चाड मान्दै आएको बताउँछन् ।

खोकना निवासी ललितपुर महानगरपालिका–२१ का वडाध्यक्ष रवीन्द्र महर्जनले खोकनावासीले परम्पराकालदेखि नै दसैँ नमान्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले दसैँको सटटमा सिकाली देवी र रुद्रायणी देवीको जात्रा मनाउँछौँ । खोकनावासीले दसैँ मनाउँदैनन् । यहाँ जमरा, टीका लगाउने जस्तो केही पनि हुँदैन । यो परम्परा परापूर्वकालदेखि नै चल्दै आएको छ । हाम्रो आराध्यदेवी भनेको सिकाली र रुद्रायणी भयो ।”

उहाँका अनुसार खोकनावासी घटस्थापनाका दिनदेखि नवमीसम्म ‘सिकाली जात्रा’ मनाउँछन् । मुलुकभरि बडादसैँको चहलपहल भइरहँदा यस गाउँका बासिन्दा ‘सिकाली जात्रा’ मनाउनमा नै व्यस्त हुन्छन् । अहिले खोकनावासीलाई यो जात्रा मनाउन भ्याइ नभ्याइ छ । यो गाउँमा यो वर्ष मात्र जमरा नराखिएको होइन । परम्परागत चलनकै कारण यहाँ दसैँ मनाइँदैन र टीका पनि लगाइँदैन । मुख्य रूपले पूजापाठ र सामूहिक भोज खाएर मनाइने यो जात्रा घटस्थापनादेखि नवमीसम्म श्रीस्वास्थानी व्रतकथामा आधारित दैवीनृत्य गरेर मनाइन्छ । यहाँका बासिन्दा आपसमा टीकाटालो नगरी आफ्नै परम्परा र मौलिकतामा यो जात्रा मनाउँछन् ।

आश्विन शुक्ल प्रतिपदाका दिन यस गाउँमा रहेका तीन वटै गुठी (तः गुठी, जम्मू गुठी र साला: गुठी) मा एक÷एक वटा राँगाको बलि दिएर यो जात्राको थालनी गरिन्छ । त्यस दिन तीन वटै गुठीका गुठियार सामूहिक भोज खान्छन् । त्यसै गरी जात्रामा रुद्रायणी, भैरव, बालकुमारी, गणेश, ब्रह्मा, महादेव, कलः ज्व (करुणामय), दन्द्रायणणी, वज्रवाराही, महालक्ष्मी, नृत्यवश्वरलगायतका देवीदेवताको पूजा गरिन्छ । जात्रामा देवीदेवताको मात्र होइन, स्याल, कुकुरलगायतका जनावरको समेत पूजाआजा गर्ने गरिन्छ ।

वडाध्यक्ष महर्जनका अनुसार चौथीका दिन बिहानै यस गाउँका तीन वटा गुठीमा पुनः राँगाको बलि दिइन्छ । त्यही गाउँकै श्रीकाल चौरमा बेलुका सामूहिक भोज खाएर चौथीका दिन यो जात्रा समाप्त गरिन्छ । पञ्चमीका दिन गाउँभरिका मन्दिरमा रहेका मूर्ति बाहिर निकाली खटमा राखी विशेष पूजाआजा गरिन्छ । त्यसै दिन गुठी र अग्रजको पूजा गरी राति ‘खटजात्रा’ गरेर श्रीकाली चौरमा पुगी त्यस दिनको जात्रा सकिने वडाध्यक्ष महर्जनले बताउनुभयो ।

षष्टीका दिन रुद्रायणी गुठीको देवी नाच र सिकालीको नाच गरी तीन वटै गुठीबाट जात्रा निकालिन्छ । जात्रापछि भोजभतेर गरी गुठीबाट निकालिएका देवीदेवताका मूर्ति गुठीका लागि प्राणप्रतिष्ठा गरिन्छ । भोलिपल्ट अर्थात् सप्तमीका दिनभरि विभिन्न देवीदेवताको नाच गरी बेलुकातिर नाच मन्दिरमा प्रवेश गराई त्यसदिनको जात्रा पनि सकिएको जानकारी गराइन्छ । अष्टमीका दिन गुठीहरूबाट फेरि देवीदेवताका मूर्ति बाहिर निकाली गाउँभरि जात्रा गराई राति पुनस्र्थापित गरिन्छ । नवमीका दिन खोकनागाउँका नेवार समुदायका प्रत्येकको घरमा पूजापाठ गरी सामूहिक भोज खाएर ‘सिकाली जात्रा’ सम्पूर्ण रूपले समापन भएको घोषणा गरिन्छ ।

किंवदन्तीका अनुसार खोकनामा रहेको रुद्रायणीको मूर्ति चोरेर लाने क्रममा एक्कासि भाले बासेछ र चोरले लसुनबारीमा मूर्ति छोडेर भागेछ । भोलिपल्ट खोकनावासीले रुद्रायणीको मूर्ति खोजेर पुनः प्राणप्रतिष्ठा गरेछन् । मूर्तिको पुनस्र्थापनापछि गाउँमा ठुलो उन्नति भएछ । यो सबै उन्नति प्रगति देवीकै कृपाले भएको हो भन्दै यो जात्राको सुरुवात गरिएको हो भन्ने स्थानीयवासीको विश्वास छ । भालेकै कारण चोरले देवीको मूर्ति चोर्न असफल भएको भन्दै रुद्रायणी गुठीका गुठियार अहिले पनि भालेको मासु खाँदैनन् ।

दसैँको समयमा सुनसान बन्ने काठमाडौँ उपत्यकाका अन्य क्षेत्रको तुलनामा खोकना भने यो जात्रा हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ हुन्छ । स्थानीय सिकाली मन्दिर र रुद्रायणी मन्दिरआसपासका क्षेत्र यतिबेला परम्परागत धिमे, बाँसुरी र नेवारी बाजागाजाले गुञ्जायमान बनेको छ । प्रत्येक घरमा पाहुनालाई बोलाएर मौलिक नेवारी परिकारसहित सामूहिक भोज खुवाउने परम्पराले सामाजिक एकतालाई थप बलियो बनाएको छ ।

देशकै अनौठो सांस्कृतिक सम्पदा बोकेको यो जात्राले खोकनालाई ‘दसैँ नमनाउने मौलिक बस्ती’ का रूपमा चिनाउन सफल भएको छ । आधुनिकताको प्रभाव बढ्दै गए पनि खोकनाका युवापुस्ताले आफ्नो पुख्र्यौली संस्कृतिलाई उत्तिकै उत्साहसाथ अङ्गीकार गरिरहेका छन्, जसले नेपालको जीवन्त इतिहासलाई जोगाइराख्न ठुलो योगदान दिएको वडाध्यक्ष महर्जनले बताउनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर