देशभरका सबै अस्पतालका ओपिडी सेवा बन्द

काठमाडौं ।  पर्साको नारायणी अस्पतालमा चिकित्सकमाथि कुटपिट भएको विरोधमा आन्दोलनमा उत्रिएका चिकित्सकहरुले आज देशभरमा ओपिडी सेवा बन्द गराएका छन् । चिकित्सकहरुको छाता संगठन नेपाल चिकित्सक संघले विज्ञप्ति जारी गर्दै देशभर आकस्मिक बाहेकका सबै सेवा बन्द भएको घोषणा गरेको हो ।

देशभर आकस्मिक सेवामात्रै सञ्चालन हुने संघले जनाएको छ । ओपिडी सेवा बन्द भएसँगै उपचारका लागि अस्पताल पुगेका बिरामीहरु समस्यामा परेका छन् । साउन ९ गते वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वाथ्यकर्मीहरूमाथि भएको सांघातिक आक्रमण र अस्पतालमा भएको तोडफोडको घटनामा संघले दोषीलाई कारबाही गर्न माग गरेको छ ।

सो घटनामा गम्भीर घाइते भएका नारायणी अस्पतालका मेडिकल अफिसर डा प्रमोद रामलाई काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टरमा ल्याएर उपचार भइरहेको छ ।

यसैबीच, वीरगञ्जस्थित नारायणी अस्पतालका चिकित्सक सामूहिक राजीनामा दिएका छन् । अस्पतालका प्रवक्ता तथा सूचना अधिकारी डा.उदयनारायण सिंहका अनुसार अस्पतालमा कार्यरत ६८ चिकित्सकले मेडिकल सुपरिन्टेन्डेन्ट डा.चित्तरञ्जन साहसमक्ष सामुहिक राजीनामा बुझाएका हुन ।

यता, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले अस्पताल जस्तो संवेदनशील क्षेत्रको सेवा प्रभावित हुनेगरी कुनै पनि विरोधका कार्यक्रम नगर्न सबैलाई आग्रह गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै घटनामा संलग्न दोषीलाई कानुनी दायरामा ल्याउने प्रक्रिया जारी रहेको जनाउँदै उपचार सेवा निरन्तर सञ्चालन गर्न आग्रह गरेको हो । स्वास्थ्य सेवा अत्यावश्यक, जीवनरक्षक र संवेदनशील सेवा भएकाले नागरिकको उपचारमा कुनै अवरोध आउन नहुने मन्त्रालयले स्पष्ट पारेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर