विद्युतीय सेवा कर लागू, सामाजिक सञ्जाल प्रयोगकर्तालाई २ प्रतिशत कर

काठमाडौं ।  विद्युतीय सेवा अर्थात इन्टरनेटमार्फत लिइने सेवाको विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स) सम्बन्धि कार्यविधि–२०८२ लागू भएको छ । इन्टेरनेटबाट चलचित्र, टेलिभिजन, संगीत, ओभर द टप (ओ.टि.टि.) र सदस्यतामा आधारित सेवा, लक्षित अनलाइन विज्ञापन सेवा, सशुल्क व्यक्तिगत प्रचार सेवा, इन्टरनेटबाट उपलब्ध गराइने बस्तु तथा सेवा लगायतमा विद्युतीय सेवा कर यही श्रावण १ गतेबाट लागू गरिएकोे हो ।

फेसबुक, टिकटक लगायत सामाजिक सञ्जालबाट गरिने विज्ञापन अथवा लिइने सेवामा २ प्रतिशतका दरले कर लगाउने नयाँ निर्णय गरिएको हो । आन्तरिक राजस्व विभागले विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स) सम्बन्धी कार्यविधि–२०८२ जारी गरि विद्युतीय सेवा कर लागू गरेसँगै इन्टरनेटका प्रयोगकर्ता नयाँ करको दायरामा आउनुपर्ने भएको हो ।

पहिले विद्युतीय सेवामा भएको कारोबार बिना नियमन भइरहेको थियो । कारोबारको रकमको लेखा–जोखा हुँदैन थियो भने यसलाई करको दायरामा ल्याएको थिएन । यसो गर्दा राज्यले पाउनुपर्ने कर गुमाउँदै आएको थियो भने अन्य व्यक्ति वा फर्मले यसको लाभ लिइरहेको थियो । राज्य विद्युतीय करको लाभ लिनबाट बञ्चित भएको थियो । राजस्व उठाउनका लागि गरिएको यस कदमलाई सकारात्मक रुपमा हेरिएको छ । तर उठाइएको विद्युतीय करलाई विकास–निर्माणमा लगाउन सके यसको सदुपयोग हुन्थ्यो । नभए उच्च पदस्थका व्यक्तिले स्रोतको दुरुपयोग गरि यसमा कब्जा जमाएर सुविधाको उपभोग गर्ने अवस्था आउन सक्दछ ।

के–केमा लाग्छ, विद्युतीय सेवा कर ?        

विद्युतीय सेवाको कारोबार मूल्य तथा गैरबासिन्दा व्यक्तिले नेपालमा रहेका प्रयोगकर्ताबाट संकलन गरिएको तथ्यांक विक्रीको कारोरबार मूल्यमा लाग्ने विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स) को प्रशासनलाई सरल र प्रभावकारी बनाउन आर्थिक ऐन–२०८२ ले दिएको अधिकार प्रयोग गरी आन्तरिक राजस्व विभागले प्रक्रिया निर्धारण गर्ने प्रयोजनको लागि विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स) सम्बन्धी कार्यविधि–२०८२ जारी गरेको छ । यो कार्यविधिलाई २०८२ साल श्रावण १ गतेदेखि लागु गरेको हो । २०८२ साल श्रावणदेखि २०८३ साल आषाढ मसान्तसम्मको लागि यो कार्यविधि लागू गरिएको हो ।

प्रयोगकर्ताले आपसमा अन्तरक्रिया गर्न सक्षम बनाउने वा प्रयोगकर्ताबीच वस्तु, सेवा वा विद्युतीय सामग्रीको आदानप्रदान, आपूर्ति वा वितरण सहज बनाउने कुनै पनि विद्युतीय प्लेटफर्म, वेवसाइट, एप्लिेकेशन वा यस्तै प्रकृतिको अन्य माध्यम विद्युतीय सेवा करको दायरामा आउने भएको हो । अर्थात फेसबुक, टिकटक, टुइटर लगायतका सामाजिक सञ्जालमा प्रयोगकर्ताले सेवा लिँदा अथवा विज्ञापन गर्दा विद्युतीय सेवा कर लगाइएको हो । नेपालमा रहेका प्रयोगकर्तालाई उपलब्ध गराएको विद्युतीय सेवा तथा नेपालमा रहेका प्रयोगकर्ताबाट संकलन गरिएको तथ्यांक विक्रीको कुल योग वार्षिक ३० लाख रुपैयाँसम्मको कारोबारमा कर लाग्ने छैन । तर ३० लाख रुपैयाँभन्दा बढी कारोबार भएमा सम्पूर्ण कारोबार रकममा कर लगाइने छ ।

प्रयोगकर्तालाई सेवा प्रदान गर्नका लागि सूचना प्रविधि अत्यावश्यक पर्ने र न्यूनतम मानवीय हस्तक्षेपमा स्वचालित रुपमा इन्टरनेट मार्फत प्रदान हुने सेवामा कर लगाइएको हो । चलचित्र, टेलिभिजन, संगीत, ओभर द टप (ओ.टि.टि.) र सदस्यतामा आधारित यस्तै अन्य सेवा, लक्षित अनलाइन विज्ञापन सेवा, इन्टरनेट बजार स्थान (अनलाइन मार्केट प्लेस) सेवा र यस मार्फत उपलब्ध गराइने बस्तु तथा सेवा, सशुल्क व्यक्तिगत प्रचार सेवा, तथ्यांक संग्रह सेवा, क्लाउड सेवा, गेमिङ्ग सेवा, मोबाइल एप्लिकेशन सम्बन्धि सेवा, सफ्टवेयरको आपूर्ति र अद्यावधिरण, तथ्याङ्क, तस्बीर लगायतका डाउनलोड सेवा, शिक्षा, परामर्श सीप विकास तथा तालिम सेवा, इ–बुक, इ–पुस्तकालय, इ–पत्रिका सेवा र यसका अतिरिक्त अन्य यस्तै प्रकृतिका सेवामा विद्युतीय सेवा कर लगाइएको छ ।

कर लगाउने आधार र दरसम्बन्धी व्यवस्था

गैरबासिन्दा व्यक्तिले नेपालमा रहेका प्रयोगकर्तालाई उपलब्ध गराएको विद्युतीय सेवाको कारोबार मूल्य तथा गैरबासिन्दा व्यक्तिले नेपालमा रहेका प्रयोगकर्ताबाट संकलन गरिएको तथ्यांक विक्रीको कारोबार मूल्यमा दुई प्रतिशतका दरले कर लाग्नेछ । अनलाइन विज्ञापन सेवा अन्तर्गत नेपालमा रहेका प्रयोगकर्तामाझ लक्षित गरि डिजिटल इन्टरफेस मार्फत विज्ञापन उपलब्ध गराउने उद्देश्यले गैरबासिन्दा व्यक्तिलाई विक्री गरेको विज्ञापन सेवा समेत नेपालमा रहेका प्रयोगकर्तालाई उपलब्ध गराएको विद्युतीय सेवा मानिनेछ । नेपालमा रहेका प्रयोगकर्तालाई उपलब्ध गराएको विद्युतीय सेवा तथा नेपालमा रहेका प्रयोगकर्ताबाट संकलन गरिएको तथ्यांक विक्रीको कुल योग वार्षिक ३० लाख रुपैयाँसम्मको कारोबारमा कर लाग्ने छैन । तर ३० लाख रुपैयाँभन्दा बढी कारोबार भएमा सम्पूर्ण कारोबार रकममा कर लाग्नेछ ।

नेपालमा रहेका व्यवसायिक प्रयोगकर्तालाई व्यवसायिक प्रयोजनको लागि डिजिटल इन्टरफेस मार्फत गरेको विक्रीको कारोबार र नेपालमा रहेका प्रयोगकर्ताबाट संकलन गरिएको तथ्यांक नेपालमा रहेका व्यवसायिक प्रयोगकर्तालाई गरिएको विक्रीको कारोबारमा कर लाग्ने छैन । अर्थात डिजिटल इन्टरफेस मार्फत कुनै वस्तु तथा सेवाको कारोबार गरेको र नेपालमा रहेका प्रयोगकर्ताबाट संकलन गरिएको तथ्यांक विक्री गरेको खण्डमा यस कर तिर्ने प्रयोजनका लागि व्यवसायिक प्रयोजनको हदसम्मको रकम गैरबासिन्दा व्यक्तिले आफ्नो कारोबार मूल्यमा समावेश गर्नुपर्ने छैन ।

साथै, इन्टरनेट बजार स्थान (अनलाइन मार्केट प्लेस) सेवा र यस मार्फत वस्तु तथा सेवा उपलब्ध गराउने गैरबासिन्दा व्यक्तिले वस्तु तथा सेवा दुबैको मूल्य जोडी कारोबार मूल्यमा समावेश गरी घोषणा गर्नु पर्नेछ । तर त्यस्तो बजार स्थानबाट बासिन्दा व्यक्तिले वस्तु तथा सेवा आपूर्ति गरेको अवस्थामा भने सो बराबरको रकम गैर बासिन्दा व्यक्तिले आफ्नो कारोबार मूल्यमा समावेश गर्नु पर्ने छैन । यो कर प्रत्यक्ष कर भएकाले विक्री मूल्यमा करको रकम जोडेर असुल उपर गर्न पाइने छैन ।

यो कार्यविधि बमोजिम कर दाखिला भएको आयमा आयकर ऐन, २०५८ बमोजिमको कर लाग्ने छैन । तर व्यवसायिक प्रयोजनका प्रयोगकर्ताले विद्युतीय सेवा तथा नेपालमा रहेका प्रयोगकर्ताबाट संकलन गरिएको तथ्यांक खरिद वापतको रकम भुक्तानी गर्दा भुक्तानीमा आयकर ऐन, २०५८ बमोजिम करकट्टी गर्नुपर्नेछ । कुनै प्रयोगकर्ताले आफूले प्रयोग गरेको विद्युतीय सेवा तथा नेपालमा रहेका प्रयोगकर्ताबाट संकलन गरिएको तथ्यांकको खरिद व्यवसायिक प्रयोग भएको भनी गलत घोषणा गरी सेवा प्रयोग गरेको खण्डमा निज प्रयोगकर्ता नै जिम्मेवार हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर