इजरायलको ६० लडाकु जहाजद्वारा तेहरान शहरमाथि मिसाइलको वर्षा

काठमाडौं ।  इजरायली सेनाले बिहीबार रातभर तेहरानका दर्जनौं ठाउँमा गरेको आक्रमणका क्रममा ‘इरानको आणविक हतियार परियोजना अनुसन्धान र विकास केन्द्र’ लाई समेत निशानामा पारेको छ । इजरायली सेनाले तेहरानको मुटुमा शृृंखलाबद्ध आक्रमण सम्पन्न गरेको जनाएको छ ।

सैन्य क्षेप्यास्त्र उत्पादन स्थल र इरानको आणविक हतियार परियोजनाको अनुसन्धान र विकासका लागि ‘अर्गनाइजेसन अफ डिफेन्सिभ इनोभेसन एन्ड रिसर्च (एसपीएनडी)’ मुख्यालयसहित दर्जनौं लक्ष्यमा प्रहार गरिएको उसले बताएको छ । इजरायली सेनाका अनुसार एसपीएनडी मुख्यालय इरानी शासनको सैन्य क्षमतालाई समर्थन गर्ने उन्नत प्रविधि र हतियार अनुसन्धान र विकासका लागि प्रयोग गरिन्छ ।

अस्ति बिहीबार राति ६० वटाभन्दा बढी लडाकु विमानले दर्जनौं सैन्य लक्ष्यमा प्रहार गरेको सेनाले जनाएको छ । ‘लक्ष्यमध्ये मिसाइल कम्पोनेन्ट उत्पादन गर्ने साइट र कास्टिङ मिसाइल इन्जिनमा प्रयोग हुने कच्चा पदार्थ निर्माण गर्ने सुविधा थिए’, इजरायली सेनाले भनेको छ । इरान आणविक हतियार विकास गर्ने संघारमा रहेको दाबी गर्दै इजरायलले एक साताअघि आफ्नो कट्टर दुष्मनविरुद्ध हवाई आक्रमण गरेको थियो । सो आक्रमणपछि दुवैतर्फबाट घातक आक्रमण सुरु भएका छन् ।

आणविक वार्ता तयारी

युरोपेली विदेशमन्त्रीहरूले शुक्रबार आफ्ना इरानी समकक्षीसँग आणविक वार्ता गर्ने भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरान–इजरायल युद्धमा अमेरिकी संलग्नताको सम्भावनालाई विचार गरिरहेका छन् । इजरायलले इरान आणविक हतियार विकास गर्ने संघारमा रहेको भन्दै एक साताअघि आफ्नो कट्टर दुष्मनविरुद्ध ठूलो आक्रमणको लहर सुरु गरेको थियो । सो आक्रमणपछि इरानले तत्काल जवाफी आक्रमण सुरु गर्‍यो ।

मैदानमा इजरायली सेनाले रातभर तेहरानमा दर्जनौ  लक्ष्यमा आक्रमण गरेको बताएको छ । यसमा ‘इरानको आणविक हतियार परियोजनाको अनुसन्धान र विकास’ केन्द्र भनिने ठाउँ पनि समावेश छ । सेनाका अनुसार इरानबाट क्षेप्यास्त्र प्रहार गरेपछि इजरायलमा साइरन बज्यो । प्रहरीले आपत्कालीन प्रतिक्रिया टोली र वम डिस्पोजल विशेषज्ञहरू दक्षिणी सहरमा ‘प्रक्षेप्य प्रभाव भएको ठाउँमा’ सञ्चालन भइरहेको बताएको छ ।

युरोपेली नेताहरूले इजरायलसँगको इरानको युद्धमा तनाव कम गर्न आग्रह गरेका छन् भने ट्रम्पले ‘आगामी दुई साताभित्र’ लडाइँमा संयुक्त राज्य अमेरिकालाई संलग्न गराउने कि नगराउने निर्णय गर्ने बताएका छन् । इजरायल, संयुक्त राज्य अमेरिका र अन्य पश्चिमी शक्तिहरूले इरानलाई आणविक हतियार खोजेको आरोप लगाउँछन् ।

सो आरोपलाई इरानले अस्वीकार गरेको छ । इरानले ६० प्रतिशत युरेनियम संवर्द्धन गरिरहेको थियो । यो अन्तर्राष्ट्रिय शक्तिहरूसँगको सन् २०१५ को सम्झौताले तय गरेको ३ दशमलव ६७ प्रतिशत सीमाभन्दा धेरै तर अझै पनि आणविक हतियारका लागि आवश्यक ९० प्रतिशत सीमाभन्दा कम छ ।

सहायक क्षति

युद्धमा अमेरिकी संलग्नताको सम्भावनालाई समर्थन गर्ने इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले क्षेप्यास्त्र आक्रमणमा ४० जना घाइते भएका र धेरै अस्पतालका वार्ड ध्वस्त भएपछि इरानले ‘भारी मूल्य’ चुकाउने बताएका छन् ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले स्वास्थ्य केन्द्रमा भएको आक्रमणलाई ‘भयावह’ भनेका छन् भने संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुख भोल्कर टर्कले नागरिकलाई ‘सहायक क्षति’ का रूपमा व्यवहार गरिएको उल्लेख गरेका छन् ।

इरानमा इजरायलको आक्रमणबाट भाग्ने मानिस खाद्यान्न अभाव र सीमित इन्टरनेट पहुँचसहित डरलाग्दा दृश्य र कठिन जीवनयापन अवस्थाबाट गुज्रन बाध्य छन् । ‘दिन र रात धेरै डरलाग्दा थिए, साइरन सुन्दै, रुँदै, मिसाइलले प्रहार गर्ने खतरा’,  तेहरान विश्वविद्यालयका विद्यार्थी मोहम्मद हसनले जन्मभूमि पाकिस्तान फर्केपछि भने ।

आणविक स्थल

इजरायलले बिहीबार आंशिक रूपमा निर्मित अराक आणविक रिएक्टर र नातान्जमा युरेनियम संवर्द्धन सुविधासहित दर्जनौ इरानी लक्ष्यमा प्रहार गरेको बताएको छ । इरानी आणविक ऊर्जा एजेन्सीका प्रमुख मोहम्मद एस्लामीले संयुक्त राष्ट्र आणविक निगरानी निकाय आईएईएलाई लेखेको पत्रमा अराक रिएक्टरमा प्रहार भएको पुष्टि गर्दै इजरायलको ‘अन्तर्राष्ट्रिय नियम उल्लंघन’ रोक्न कारबाही माग गरेका छन् ।

मध्य इजरायली सहर बात याममा आइतबार आक्रमण भएको स्थानमा एक महिलाको शव भेटिएको छ । अधिकारीका अनुसार यो शवसँगै गत १३ जुनदेखि इरानी मिसाइलबाट इजरायलमा मृत्युको संख्यालाई २५ जना पुगेको छ । इरानले आइतबार इजरायली आक्रमणले सैन्य कमान्डर, आणविक वैज्ञानिक र नागरिकसहित कम्तीमा २ सय २४ जनाको मृत्यु भएको बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर