देशभर ४४ राजमार्गमा क्षति : २७ राजमार्ग अवरुद्ध

काठमाडौं । विगत दुई दिनदेखि परेको वर्षाका कारण उत्पन्न बाढी र पहिरोले देशभर ४४ राजमार्गमा क्षति पुगेको छ भने २७ राजमार्ग अवरुद्ध छन्। नेपाल प्रहरीका अनुसार बाढी र पहिरोले अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको छ। बाढी र पहिरोले क्षति पुगेका ४४ मध्ये १७ राजमार्ग एकतर्फी सञ्चालनमा आएका छन्। अझै पनि २७ राजमार्ग बाढी र पहिरोका कारण अवरुद्ध हुँदा सवारीसाधन र यात्रु बाटामै रोकिएका छन्। अवरुद्ध बनेकामध्ये केही राजमार्ग सञ्चालन गर्न चार–पाँच दिन नै लाग्ने प्रहरीले जनाएको छ।

कोशी प्रदेशमा तीन वटा राजमार्ग अवरुद्ध छन्। बाढीले संखुवासभामा दक्षिण कोशी र कोशी राजमार्ग अवरुद्ध छन्। त्यस्तै, पहिरोले सुनसरीको चतरा–बराहक्षेत्रको भित्री सडक अवरुद्ध छ। पहिरोले बागमती प्रदेशका ६ वटा राजमार्गमा क्षति पुर्‍याएको छ। रसुवाको स्याफ्रुबेसी–थाम्बुचेत राजमार्ग खण्ड पूर्ण रूपमा अवरुद्ध छ। त्यस्तै, चितवनमा पृथ्वी राजमार्ग, मकवानपुरमा भीमफेदी–काठमाडौं–हेटौंडा, भीमफेदी(काठमाडौं र कान्ति लोकपथ तथा काभ्रेमा बीपी राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएका छन्।

गण्डकी प्रदेशमा नौ वटा राजमार्गमा बाढी र पहिरोले क्षति पुगेको छ। बाढीले मनाङमा चामे(बेंसीशहर, पहिरोले म्याग्दीमा बेनी-दरवाङ र बेनी-जोमसोम सडक पूर्ण रूपमा अवरुद्ध छन्। त्यस्तै, स्याङ्जामा सिद्धार्थ राजमार्ग, नवलपरासी (पूर्व) मा कालीगण्डकी करिडोर बाग्लुङमा मध्यपहाडी लोकमार्ग अवरुद्ध रहेको प्रहरीले जनाएको छ। पर्वतमा मालढुंगा-बेनी सडक, स्याङ्जामा सिद्धार्थ राजमार्ग र तनहुँमा पृथ्वी राजमार्ग पहिरो पन्छाएपछि एकतर्फी सञ्चालनमा आएका छन्। यसैगरी, लुम्बिनीमा १७, कर्णालीमा तीन र सुदूरपश्चिममा पाँच वटा सडकमा बाढी र पहिरोले क्षति पुगेको छ। पहिरो पन्छाएर केही सडक सञ्चालनमा आएका छन् भने अधिकांश पूर्ण रूपमा अवरुद्ध छन्। (तस्बिरःफाइल)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर