भक्तपुरको दिव्यश्वरी प्लानिङ क्षेत्रबाट ५६ जनाको उद्धार

भक्तपुर । भीषण वर्षाका कारण भक्तपुरको दिव्यश्वरी प्लानिङ क्षेत्रमा फसेका ३० पुरुष, २० महिला र छ बालबालिका गरी ५६ जनाको उद्धार गरिएको छ । वर्षाका कारण मनोहरा खोलामा आएको बाढी बस्तीभित्र पसेपछि दिव्यश्वरी प्लानिङ क्षेत्रमा रहेका १८ वटा टहरामा बसोबास गरिरहेका ५६ जनालाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए ।

यसैगरी हनुमन्ते खोलामा आएको बाढीले मध्यपुरथिमि–३ स्थित आश्विन आचार्यको जस्ताको टहराको गाईगोठमा पानी पसेपछि प्रहरी प्रभाग बालकोटबाट खटिएको प्रहरी टोलीले दुईवटा गाई उद्धार गरेको छ । चाँगुनारायण नगरपालिका–४ खनालचोकस्थित प्रगति टोलमा ऋद्धिसिद्धि बसपार्क र खहरेबाट बगेको पानीले टोलमा डुबान भएकोमा प्रहरी प्रभाग चाँगुको प्रहरी टोली, स्थानीय जनप्रतिनिधि र स्थानीयको सहयोगमा पानी कटाई क्षति हुनबाट जोगाएको प्रनाउ कार्कीले जानकारी दिए ।

त्यसैगरी भक्तपुरको सिद्धि स्मृति अस्पतालभित्र पानी पसेर अस्पताल जलमग्न हुँदा क्षति पुर्‍याएको छ । अस्पतालको आकस्मिक कक्ष, फार्मेसी, ओपिडी, अल्ट्रासाउण्ड, एक्सरे कक्षमा क्षति पुर्याएको र बिरामीलाई माथिल्लो तलामा सारिएको छ । त्यसैगरी शान्ति निकेतन माध्यमिक विद्यालय सूर्यविनायक र त्यस आसपासका बस्ती डुबानमा परेका छन् । सूर्यविनायक नगरपालिका‐५ गडगडे खोलामा आएको बाढी बस्तीभित्र पसेपछि यहाँका करिब ५० घर डुबानमा परेको छ । त्यस क्षेत्रका बासिन्दाका घरको भुइँतलामा रहेको सामानमा क्षति पुगेको र आवातजावतमा समेत दिनभर अवरोध भएको थियो । हनुमन्ते खोलामा आएको बाढी राममन्दिर, बाराही स्थानका मन्दिर, विद्यालय र नदी किनाराका बस्ती, मध्यपुरथिमि क्षेत्रको राधेराधे, सूर्यविनायकको बालकोट, चारदोबाटो, मनोहरा खोला किनारामा रहेको जडीबुटीस्थित सुकुम्बासी बस्तीलगायत क्षेत्र डुबानमा परेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर