दैलेखमा पेट्रोल अन्वेषणका लागि वेल ड्रिलिङको कार्य सुरु
काठमाडौं । दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थको अन्तिम अन्वेषण तथा उत्खननका लागि आवश्यक पर्ने पूर्वाधार निर्माण र उपकरण जडान कार्य सकिएसँगै वेल ड्रिलिङ कार्यको सुरुवात गरिएको छ ।
सङ्घीय सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आइतबार पेट्रोलियम पदार्थको अन्वेषणात्मक वेल ड्रिलिङ कार्यको सुरुवात गरेका छन् । पेट्रोलियम पदार्थको अन्वेषणात्मक ड्रिलिङ कार्यको सुरुवात गर्दै मन्त्री भण्डारीले पेट्रोलियम पदार्थको अन्वेषण तथा उत्खनन भएमा मुलुक आर्थिक समृद्धिको यात्रामा अगाडि बढ्ने बताए ।
तत्कालीन समयमा भारतले लगाएको नाकाबन्दीका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरु गरेको परियोजनाले सार्थकताउन्मुख भएको छ, अब छिट्टै परियोजनाले मुख्य ड्रिलिङको काम सक्नेबित्तिकै पेट्रोलियम पदार्थको परिणाम पत्ता लाग्ने र थप अन्वेषण तथा उत्खननका कामहरू हुने मन्त्री भण्डारीको भनाइ छ ।
खानी तथा भूगर्भ विभाग पेट्रोलियम अन्वेषण परियोजनाका प्रमुख दिनेशकुमार नापितले पेट्रोलियम पदार्थको उत्खननको अन्तिम अन्वेषण तथा उत्खननको मुख्य ड्रिलिङका लागि आवश्यक उपकरण जडान गरिसकेपछि मुख्य ड्रिलिङको काम सुरु भएको जानकारी दिए । उनले मुख्य ड्रिलिङको काम सुरु भएको चार महिनाभित्र सम्पन्न गरिसक्ने गरी काम भइरहेको बताए । उनले भने, “अहिलेसम्म १७५ वटा ट्रकहरू दैलेख पुगेको छ । अझै बाँकी रहेको उपकरणहरू ल्याउने काम भइरहेको छ ।” यसैगरी परियोजनाका लागि आवश्यक पर्ने अन्य उपकरण केरुङ नाकाबाट ल्याउने तयारी गरिरहेको छ ।
