नयाँदिल्ली, काठमाडौं र बेइजिङ सबैभन्दा प्रदूषित शहरका रूपमा सूचीकृत
काठमाडौं । काठमाडौं शहर वायु प्रदूषणको हिसाबले विश्वकै दोस्रो स्थानमा सूचीकृत भएको छ । ‘एअर क्वालिटी इन्डेक्स’ को आज आइतबारको तथ्याङ्कअनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय ७७ पुगेको छ । गत बिहीबार वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय ६८ पुगेको बुधबार वायु प्रदूषण बढेर वायु गुणस्तर सूचकाङ्क एक सय ९५ पुगेको थियो । शनिवार भने घटेर वायु गुणस्तर सूचकांक एक सय ८५ रहेको थियो ।
एअर क्वालिटी इन्डेक्स’ का अनुसार पहिलो प्रदूषित शहरको रूपमा भने भारतको नयाँदिल्ली सूचीकृत भएको छ । दिल्लीको वायु गुणस्तर सूचकाङ्क दुई सय ४५ रहेको छ । यसैगरी तेस्रो स्थानमा चीनको बेइजिङ विश्वकै तेस्रो प्रदूषित शहरको रूपमा सूचीकृत भएको छ । सुक्खायामसँगै बढ्दै गइरहेको तापक्रम वृद्धिसँगै मुलुकको विभिन्न स्थानमा लागेको वन डढेलोको कारण वायु प्रदुषण पनि बढिरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सुक्खायामसँगै मुलुकका विभिन्न स्थानमा लागिरहेको डढेलो नियन्त्रण हुन नसक्दा काठमाडौं उपत्यका लगायतका मुख्य शहरमा प्रदूषण बढेर वायु नै अस्वस्थ रहेको छ ।
नेपालमा फागुन, चैत, वैशाख र जेठ महिनामा वायु प्रदुषण बढ्ने गरेको भन्दै सतर्कता अपनाउन वातावरण विभागले अनुरोध गरेको छ । मुलुकका विभिन्न स्थानमा लागेको वन डढेलोको धुवाँका कारण वायु अस्वस्थ्य भएको भन्दै विभागले सावधानी अपनाउन आग्रह गरेको हो । विभागका अनुसार यसअवधिमा विशेषगरी बढ्दो तापमान, कम सापेक्षित आद्र्रता र सुक्खा मौसम जस्ता प्राकृतिक कारणबाट हुने डढेलो, मानवीय कारण जस्तै फोहर तथा कृषि अवशेष जलाउँदा तथा उद्योग कलकारखाना, सवारीसाधन, भौतिक निर्माण आदिबाट निस्कने प्रदूषित धुवाँधुलोबाट वायु प्रदूषण हुने गरेको पाइएको छ ।
