वाइड बडी काण्डका ३२ आरोपीविरुद्ध विशेष अदालतमा मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल वायुसेवा निगमको लागि वाइड बडी विमान खरिदमा भ्रष्टाचार गरेको आरोपमा पूर्वमन्त्री, नेपाल वायुसेवा निगमका महानिर्देशक, पूर्वपर्यटन सचिवसहित ३२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारले पूर्वपर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका पूर्वमहाप्रबन्धक सुगतरत्न कंसाकार, पूर्वपर्यटन सचिव शंकर अधिकारीसहित ३२ जनाविरुद्ध मुद्दा दायर गरेको हो । अख्तियारले दायर गरेको आरोपपत्रमा वाइड बडी खरिदमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार भएको दाबी गरिएको छ ।
पूर्वमन्त्री शाही कर्णाली प्रदेशमा अहिले नेपाली कांग्रेसको संसदीय दलको नेता छन् ।पूर्वसचिव अधिकारी अवकाश प्राप्त हुन् । नेपाल वायुसेवा निगमका लागि एअरबस कम्पनीका दुईवटा विमान खरिद गर्दा २४ अर्ब रुपैयाँ भुक्तानी गरिएको थियो । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले यस विषयमा छानबिन गर्न गठन गरेको उपसमितिले विमान खरिदमा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ अनियमितता भएको निष्कर्ष निकालेको थियो ।
