सरकार र दूध उत्पादक किसानबिच पाँच बुँदे सहमति
काठमाडौं । सरकार र दूध उत्पादक किसानबीच शनिबार राति पाँच बुँदे सहमति भएको छ । कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसालको उपस्थितिमा भएको वार्तामा दूध बिक्री गरेबापत किसानले पाउने रकमको भुक्तानी हरेक उद्योगीले आउँदो चैत २१ सम्म गरिसक्नेलगायतका पाँच बुँदे सहमति भएको केन्द्रीय दुग्ध सहकारी सङ्घका अध्यक्ष अमरबहादुर कुँवरले जानकारी दिए ।
उद्योगले सहकारीबाट खरिद गरेको दूधको परिमाणलाई नघटार्इ मिल्क होलिडे नहुने गरी दूध खरिद गर्ने, उद्योगीको दूध तथा दुग्धजन्य पदार्थ निर्यातका लागि कृषि तथा पशुपक्षी मन्त्रालयले समन्वय गर्ने, निर्यात प्रवर्द्धनका लागि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गर्ने, पशुपालक किसानलाई सरकारले दिँदै आएको बीमा कार्यक्रमलाई निरन्तरता दिने र केन्द्रीय दुग्ध सहकारी सङ्घले राखेका माग सम्बोधनका लागि पहल गर्ने सहमति छ ।
झण्डै ६ अर्ब रुपैयाँ दूधको भुक्तानी रोकिएको भन्दै किसान तथा सङ्घ सङ्गठनले गएको फागुन १० गते चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरी विरोध प्रदर्शन गर्दै आएका थिए । अध्यक्ष कुँवरले सहमति भएसँगै विरोध कार्यक्रम स्थगित गरिएको बताए ।

