ठगीको आरोपमा पूर्वमन्त्री कुँवरसहित ६ जना पक्राउ
काठमाडौं । मलेसिया जाने नेपाली श्रमिकमाथि भएको ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धानका लागि दुई पूर्वमन्त्रीसहित ६ जना हिजो बुधबार पक्राउ परेका छन्।
पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र रामेश्वर राय यादव रहेका छन्। त्यस्तै, मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुख (सहसचिव) उमेश ढुङ्गाना र राजीव पोखरेल तथा तत्कालीन कानून अधिकृत (उपसचिव) निर्मला गुरुङ पक्राउ परेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र तथा विकास रानाभाटसमेतको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको ठगी तथा संगठित अपराधसम्बन्धी कसुरमा उनीहरूलाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार मलेसिया सरकार र नेपाल सरकारबीच भएको समझदारीपत्र (एमओयू) विपरीत गैरकानूनी रूपमा ठगी गरी संकलन गरिएको रकम मलेसिया पठाउने निर्णय प्रक्रियामा उनीहरू संलग्न रहेको आरोप छ।
उक्त प्रकरणमा अमेरिकी डलर ८३ लाख ७० हजार ४३९ र बेलायती पाउन्ड ३७ लाख १७ हजार ९८० गरी कुल एक अर्ब ६९ करोड दुई लाख २४ हजार २६ रुपैयाँ ७६ पैसा बराबरको रकम गैरकानूनी रूपमा संकलन तथा विदेश पठाइएको प्रहरीको दाबी छ।

