‘अर्णव’ चक्रवातको असर : वर्षाभन्दा बढी हिमपात हुने
काठमाडौं । बङ्गालको खाडीमा विकसित भएको शक्तिशाली न्यूनचापीय क्षेत्र बलियो चक्रवातको स्वरूपमा बदलिएको छ । उक्त चक्रवात ‘अर्णव’ रहेको नेपाल मौसम विज्ञान विभाग र भारत मौसम विभाग दुवैले औँल्याएका छन् । सोमबार चक्रवातमा परिणत भएर अर्णव भारतको आन्ध्र प्रदेश र ओडिसातर्फ सोझिँदै जाँदा ती क्षेत्रमा उच्च सतर्कताको सूचना जारी गरिएको छ । विगत छ घण्टामा १५ किलोमिटर प्रतिघण्टाको उच्च गतिमा पश्चिमतिर सर्दै छ । अर्णव चक्रवात पूर्वी र पश्चिमस्थित बङ्गालको खाडीमा १५.४ डिग्री उत्तरी अक्षांश र ८८.९ डिग्री पूर्वी देशान्तरमा केन्द्रित रहँदै अन्डमान टापुबाट करिब ५९० किलोमिटर उत्तरपश्चिममा रहेको छ ।
मङ्गलबार थप बलियो हुँदै अत्यन्तै गम्भीर चक्रवाती आँधीमा परिणत हुने सम्भावना उच्च रहेको भारतको मौसम विभागले जनाएको छ । विभागका अनुसार त्यसपछि उत्तरपश्चिमतिर सर्दै विशाखापट्टनमको बिचमा रहेको आन्ध्र प्रदेश र यानम तट पार गर्ने छ । सो क्रममा चक्रवातको वायुको वेग ११५ देखि १२५ किलोमिटर प्रतिघण्टा हुने अनुमान गरिएको छ । बुधबार बिहान चक्रवातको वायुको वेग अति शक्तिशाली हुँदै १४० किलोमिटर प्रतिघण्टाको गतिमा परिणत हुने छ ।
मङ्गलबार मध्याह्न भारतको आन्ध्र प्रदेश र ओडिसाको तटीय क्षेत्रमा मौसमी उदण्डता मच्चाएपछि अन्य प्रणालीसँग मिसिँदै नेपालतर्फ सोझिने भएको छ । बुधबार रातिदेखि चक्रवातको असर नेपाल आइपुग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसले बिहीबारदेखि नेपालका विभिन्न स्थानमा भारी वर्षा गराउने छ । वर्षाभन्दा बढी हिमाली भेगमा भीषण हिमपात गराउने सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो ।
चक्रवातले ल्याउने जलवाष्प माथिल्लो वायुमण्डलको न्यूनचापीय रेखासँग ठोक्किन पुग्दा वर्षा लम्बिने भएको छ । उहाँका अनुसार देशव्यापी बदली र वर्षाको सम्भावनासँगै शनिबारसम्म काठमाडौँ उपत्यकासहित कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा विशेष सतर्कता अपनाउनुपर्ने हुन सक्ने छ । उहाँले भन्नुभयो, “कुन क्षेत्रमा कति भारी वर्षा र हिमपात हुन्छ भन्न अझै दुई दिन कुर्नुपर्ने छ, तथापि हिमाली भेगमा उच्च हिमपात हुने कुरालाई नकार्न सकिन्न ।” पश्चिम नेपालतिर सर्ने क्रममा प्रभाव कम हुने भएकाले ठुलो वर्षा त्यता नहुने सम्भावना रहेको छ ।
महाशाखाले पाँच दिनको मौसमको अवस्था सार्वजनिक गर्दै बुधबारसम्म काटेको धान भित्र्याउन सुझाएको छ । हिमाली भेगमा पदयात्रा र आरोहणको मौसम भएकाले ती दिनमा हिमालमा यात्रा नगर्न मौसमविद् लामिछानेले आग्रह गर्नुभयो । उहाँले थप्नुभयो, “उच्च हिमपात हुने भएकाले हिउँ पहिरोले पदमार्ग छोपिने र आधार शिविरमा पनि बाक्लो हिमपात हुने सम्भावना छ, त्यसैले पदयात्री सुरक्षित स्थानमा बस्नु पर्छ ।” एक सहरदेखि अर्को सहर वा गाउँतर्फ अबको केही दिन सकभर यात्रा नगर्न र जानै पर्दा मौसमको अवस्था बुझेर जान महाशाखाले अनुरोध गरेको छ । त्रिभुवनविश्वविद्यालयस्थित मौसम केन्द्रीय विभागका मौसमविद् विनोद पोखरेलले पनि विभिन्न मौसमी मोडेलले वर्षाको उच्च सम्भावना देखाइरहेको औँल्याउनुभएको छ । उहाँका अनुसार बिहीबारदेखि धेरै स्थानमा भारी वर्षा र उच्च हिमपातको सम्भावना छ ।
प्राधिकरणद्वारा सचेत रहन आग्रह
यसैबिच यही कात्तिक ११ गतेदेखि नेपालमा सम्भावित उच्च वर्षा र हिमपातप्रति सजग रहन राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अपिल गरेको छ । ‘अर्णव’ चक्रवात शक्तिशाली बन्दै गएकाले त्यसको प्रभाव नेपालमा कात्तिक १२ गते बिहीबार रातिबाट बढी पर्ने भन्दै सचेत रहन प्राधिकरणले आग्रह गरेको हो ।
नेपाल मौसम विभागले सोमबार जारी गरेको मौसमी पूर्वसूचना उद्धृत गर्दै कात्तिक १३ गते शुक्रबार र कात्तिक १४ गते शनिबार कोशी, बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेश बढी प्रभावित हुने जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि भारी वर्षाको सम्भावना रहेकाले सजग रहन भनिएको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी तथा हिमपहिरोको उच्च जोखिम रहेकाले अहिलेदेखि आवश्यक सतर्कता अपनाउन सरोकारवाला निकायलाई अनुरोध गरेको छ ।
जस अनुसार देशभर धानबाली काट्ने, भित्र्याउनेलगायतका कृषिकार्य कात्तिक १२ गतेअगाडि नै गर्न भनिएको छ । साथै उक्त अवधिभर अत्यावश्यक नपरी यात्रा नगर्न सुझाइएको छ । सम्बन्धित सङ्घीय मन्त्रालय तथा निकाय, प्रदेश सरकार, स्थानीय तह, तीन वटै सुरक्षा निकाय, स्वयंसेवकलगायत सरोकारवाला सबै निकायले सर्वसाधारणलाई जोखिमबारे पूर्वसुसूचित गर्न तथा प्रतिकार्यका लागि तयारी अवस्थामा रहन प्राधिकरणले निर्देशन दिएको छ । प्राधिकरण, मौसम विज्ञान विभागलगायतका सम्बन्धित आधिकारिक निकायबाट जारी हुने अद्यावधिक मौसमी पूर्वानुमान, पूर्वसूचना, चेतावनी पालना गर्न पनि सचेत गराइएको छ ।
