भदौमा २ खर्ब २१ अर्ब ३१ करोड रेमिट्यान्स भित्रियो
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को भदौ महिनामा मात्रै नेपालमा २ खर्ब २१ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो रकम साउन महिनामा भित्रिएको रेमिट्यान्सभन्दा करिब ६ अर्ब रुपैयाँ बढी हो ।
नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रेमिट्यान्स आप्रवाह २३.९ प्रतिशतले वृद्धि भई ४ खर्ब ३६ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ३३.१ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा हिसाब गर्दा भदौसम्मको रेमिट्यान्स आप्रवाह १३.५ प्रतिशतले वृद्धि भई २ अर्ब ८५ करोड डलर पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २७.६ प्रतिशतले बढेको थियो ।
यसैगरी, चालु आर्थिक वर्षको पहिलो दुई महिनामा खुद द्वितीय आय (खुद ट्रान्सफर) ४ खर्ब ६९ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आय ३ खर्ब ८४ अर्ब ८८ करोड रुपैयाँ रहेको थियो ।
वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या भने घटेको छ । चालु आर्थिक वर्षको भदौसम्म ७८ हजार ३२० जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या ९० हजार १९८ थियो ।
त्यस्तै, पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या भने बढेको छ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ५२ हजार १६३ जनाले पुनः श्रम स्वीकृति लिएका छन् । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या ४५ हजार ८८४ रहेको थियो ।
