आज बिहीबार सेयर बजारमा सामान्य वृद्धि
काठमाडौं । आज बिहीबार सेयर बजारमा सामान्य वृद्धि भएको छ। पछिल्लो पाँच कारोबार दिनदेखि बढिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकको कारोबार रकमसमेत बढेको छ।
आज नेप्से ४.५६ अंक बढेर २६२५.८२ विन्दुमा पुगेको छ। सेन्सेटिभ इन्डेक्स १.०१ अंक, फ्लोट इन्डेक्स ०.४१ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.३४ अंक बढेको छ। हिजो बुधबार ४ अर्ब १३ करोड रुपैयाँको सेयर कारोबार भएको बजारमा आज बिहीबार ४ अर्ब ७१ करोड ७० लाख २८ हजार रुपैयाँको कारोबार भएको छ। आज ३४९ कम्पनीका १ करोड ३६ लाख २४ हजार कित्ता सेयर ३८ हजार ८६१ पटकको कारोबारमा खरिदबिक्री भएका छन्।
बेनी हाइड्रोपावरको सेयरमा सकारात्मक सर्किट
आज बेनी हाइड्रोपावर प्रोजेक्टको सेयर मूल्य सकारात्मक सर्किट लागेको छ। दोस्रो बजारमा आज बिहीबारदेखि कारोबार सुरु भएको कम्पनीको सेयर मूल्य ४० रुपैयाँ ९० पैसा बढेर ३१३ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, हिमालयन एभरेष्ट इन्सुरेन्सको सेयर मूल्य र लक्ष्मी उन्नति कोषको इकाइ मूल्य करिब साढे ६ प्रतिशत बढेको छ। मूल्य घटेका सेयर तथा इकाइमध्ये कुनैको पनि गिरावट ३ प्रतिशत पुगेको छैन।
कारोबारमा कुमारी बैंक अगाडि
कारोबार रकमका आधारमा कुमारी बैंक शीर्ष स्थानमा रहेको छ। बैंकको २३ करोड ६१ लाख ३१ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ। अपि पावर कम्पनीको करिब २३ करोड रुपैयाँ र घलेम्दी हाइड्रोको साढे १८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
नौ उपसमूह बढे, चार घटे
आज कारोबारमा आएका १३ उपसमूहमध्ये नौवटाको परिसूचक बढेको छ भने चारवटाको घटेको छ। वित्त उपसमूहको परिसूचक सर्वाधिक १.०३ प्रतिशत बढेको छ। बैंकिङ, उत्पादन तथा प्रशोधन, अन्य र व्यापार उपसमूहको परिसूचक भने सामान्य घटेको छ।
