आज देशभरका मुख्य राजमार्गको यस्तो छ अवस्था
काठमाडौं । बाढी, पहिरो तथा सडक मर्मतका कारण देशका विभिन्न जिल्लाका मुख्य राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको छ। नेपाल प्रहरीका अनुसार बुधबार बिहान ६:३० बजेसम्म केही सडक पूर्ण रूपमा अवरुद्ध छन् भने केहीमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ।
बागमती प्रदेशअन्तर्गत काभ्रेको बीपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेसी खण्डमा सम्भावित बाढीका कारण सवारी सञ्चालनमा समयअनुसार व्यवस्थापन गरिएको छ। राति ७ बजेदेखि बिहान ४ बजेसम्म १० टनसम्मका मालवाहक सवारी सञ्चालन गर्न सकिने तथा बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म परिस्थितिको अवस्था हेरेर सवारी सञ्चालन गरिने प्रहरीले जनाएको छ।
रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा बाढीका कारण त्रिशूली–मेलुङ–स्याफ्रुबेंसी सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छ। रसुवाकै मुख्य राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध रहेको छ।
नुवाकोटको शिवपुरी गाउँपालिका–८ घट्टेखोलामा सम्भावित बाढी तथा पहिरोको जोखिमका कारण टोखा–छहरे सडकखण्डमा राति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ। वेत्रावती नगरपालिका–१० सिमटारमा पहिरोका कारण पासाङल्हामु सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध छ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीर र गजुरी गाउँपालिका–२ चालिसेमा पहिरोका कारण पृथ्वी राजमार्ग प्रभावित भएको छ। बेनीघाट रोराङ गाउँपालिका–१० ज्वाङखोलाको सडकखण्ड भने एकतर्फी रूपमा सञ्चालनमा रहेको छ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ विष्णुपानीमा पहिरोका कारण काठमाडौं–धादिङ सडकखण्डमा एकतर्फी यातायात सञ्चालन भइरहेको छ। चितवनको बेनीघाट रोराङ गाउँपालिका–१० ज्वाङखोलामा सडक मर्मतपछि पृथ्वी राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा रहेको प्रहरीले जनाएको छ।
लुम्बिनी प्रदेशको रोल्पामा परिवर्तन गाउँपालिका–३ भालुबोर क्षेत्रमा पहिरोका कारण शहीद राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ। कर्णाली प्रदेशमा मुगुको छायानाथ रारा नगरपालिका–४ ताल्चामा पहिरोका कारण मुगु–नाग्मा सडक पूर्ण रूपमा बन्द छ।
